°
, June 2, 2023 in

खेलाडीले राम्रा टिमसँग पनि फाइट गर्न सक्छौं भन्ने देखाए : अलमुताइरी

SHARE:

पहिलो पटक अफ्रिकी मुलुकसँग मैत्रीपूर्ण खेल खेलेको नेपालले सुखद् नतिजा निकाल्यो। दुई मैत्रीपूर्ण खेल खेलेको नेपालले दुवै खेलमा समान १(०को जित निकाल्यो।

दोस्रो मैत्रीपूर्ण खेलपछि पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै मुख्य प्रशिक्षक अलमुताइरीले खेलाडीले मिहिनेत गरेर खेलेको र राम्रा टिमसँग पनि फाइट गर्न सक्छौं भन्ने देखाएको बताए ।

‘आज खेलाडीमा डर देखिनँ। शारीरिक रुपमा बलियो टिमविरुद्ध नेपाली खेलाडीले राम्रो प्रदर्शन गरेका छन्,’ अलुमुताइरीले भने, ‘अग्रता लिइसकेको अवस्थामा हामीले सहजरुपमा खेल्यौं। नेपाली खेलाडीले राम्रो टोलीसँग पनि लड्न सक्छ भनेर प्रमाणित भएको छ।’

मरिससविरुद्ध अपेक्षाकृत नतिजा निस्केको बताउँदै उनले दुवै खेल जित्ने अपेक्षा भने नगरेको बताए। उनले भने, ‘मेरो योजनामा दुवै जित्ने थिएन। पहिलो खेलअघि कमसेकम एक खेलमा जित निकाल्ने लक्ष्य राखेको थिएँ।’

अलमुताइरीले अग्रता लिएपछि खेलाडीलाई मैदानमा केही सहज महसुस भएको पनि बताए। पहिलो खेलको तुलनामा दोस्रो खेलमा खेलाडीहरु निडर देखिएकाले आगामी खेलहरु खेल्न सक्षम रहेको प्रमाणित गरेको उनको भनाइ थियो।

दोस्रो खेलको दोस्रो हाफ निकै तनावपूर्ण रह्यो । खेलमा ३ खेलाडी र एक अफिसियलले रातो कार्ड पाए । एकैपटक चार पहेँलो कार्ड देखाइएको थियो । सो तनावमा दुवै टिमका खेलाडी बराबर जिम्मेवार भएको अलमुताइरीले बताए। ‘खेल सकियो अब सबैले कुरा बिर्सनुपर्छ,’ उनले भने, ‘म रेफ्रीको डिसिजन सम्मान गर्छु।’ खेलमा हार जित हुने भन्दै उनले आफूहरु जितका लागि योग्य भएको बताए।

आजको जितसँगै फिफा वरीयतामा पनि दुई स्थान सुधार हुने उनले अपेक्षा राखेका छन्। यता, मरिससका प्रशिक्षक टोनी फ्रान्कोइसले नेपालविरुद्धका दुवै खेलमा केही अवसर सिर्जना गरे पनि सदुपयोग गर्न नसक्दा हार आत्मसाथ गर्नुपरेको स्वीकार गरे।

SHARE: