नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाललाई साफ च्याम्पियनससिपको पहिलो खेल नै कठीन हुने बताएका छन्। शुक्रबार पोखरामा एन्फाको मिडियासँग कुरा गर्दै अल्मुताइरीले पहिलो खेलमै नेपालको प्रतिद्वन्द्वी आयोजक र त्यो पनि डिफेन्डिङ च्याम्पियन माल्दिभ्ससँग परेका त्यो खेल नेपालका लागि निकै कठीन भएको उनले बताए ।
ु‘साफको उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दैछौं। यो हाम्रो लागि कठिन खेल हो। किनभने माल्दिभ्स आयोजक हो र, डिफेन्डिङ च्याम्पियन पनि’, प्रशिक्षक अल्मुताइरीले भने। तर, उनले आफूहरु जितका लागि खेल्ने बताए ।
नेपाली राष्ट्रिय फुटबल टिम अहिले साफ च्याम्पियनसिपको तयारीका लागि पोखरामा बन्द प्रशिक्षणमा छ। साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भदौ १७ र २०मा दशरथ रंगशालामा भारतसँग २ मैत्रीपूर्ण खेल खेल्दै छ।
यो पटक साफ च्याम्पियनपिसपमा ५ टिममात्र सहभगाी छन् । सिंगल राउन्ड रोविनमा हुने लिगका शीर्ष दुई टिम फाइनल पुग्ने छन्। नेपालले अक्टोबर १मा माल्भ्सिसँग खेल्ने छ भने अक्टोबर ३मा श्रींलका, अक्टोबर ८मा भारत र अक्टोबर ११ मा बंगलादेशसंग खेल्नेछ ।
प्रशिक्षक अल्मुताइरीले साफ नेपालका लागि निकै महत्वपूर्ण भएको बताए। उलने भने, ‘हामीले अहिलेसम्म ट्रफी जितेका छैनौं। त्यसैले साफ हाम्रा लागि महत्वपूर्ण छ। तर खेलाडीलाई दबाब नदिऔं। यदि साफमा हार्यौं भने मेरो गल्ती हुनेछ। जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ।’
नेपाली टिममा परिवर्तन आएको बताउँदै नेपालसँग वरीयता सुधार गर्ने अवसर भएको उनको भनाइ छ। ‘विश्वकप छनोट र अहिलेको तुलना गर्ने हो भने टिममा धेरै परिवर्तन भइसकेको छ। हामीसँग अहिले पर्याप्त समय छ। हामीले विश्लेषण गरिरहेका छौं। सबै खेलाडी तयार छन्। एसियन कपअघि हामीलाई प्रदर्शन र वरीयता सुधार गर्ने मौका छ।’ उनले आफू नतिजाका आधरमा नभइ प्रदर्शनको आधारमा खेलाडीको मूल्यांकन गर्ने बताए।