दर्जन सिनियर खेलाडीले राष्ट्रिय फुटबल टिममा विद्रोह गरेपछि मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जुनियर खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन्।
रोहित चन्द, विशाल राई, अञ्जन विष्ट, सुजल श्रेष्ठ, विमल घर्तिमगरलगायतले क्याम्प छाडेपछि अल्मुताइरीले १४ जुनियर खेलाडीलाई टिममा बोलाएको बताइएको छ। टिममा बोलाइएको खेलाडीको नाम भने सार्वजनिक भइसकेको छैन।
मुख्य प्रशिक्षकले सिनियर खेलाडी रोहित चन्दलाई दुर्व्यवहार गरेको भन्दै बन्द प्रशिक्षमा रहेका दर्जन सिनियर खेलाडीले मंगलबार राष्ट्रिय टिमको क्याम्प छाडेका थिए।
आफ्नो सुविधाका विषयमा सिनियर खेलाडीले आवाज उठाएपछि प्रशिक्षक र खेलाडीबीच खटपट सुरु भएको थियो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितले सुरुवातमा क्याम्प छाडेका थिए । रोहितले क्याम्प छाड्दा प्रशिक्षकले गैरजिम्मेवारपूर्ण व्यवहार देखाएको अन्य खेलाडीले पनि विद्रोह गर्दै क्याम्प छाडेका हुन्।
अल्मुताइरीसँग असन्तुष्टी जनाउँदै होटल छाड्नेमा रोहितसँगै विशाल राई, सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल श्रेष्ठ, अञ्जन विष्ट, विमल घर्तीमगरलगायतका छन्। अल्मुताइरीले रोहितलाई दुर्व्यवहार गरेको आरोप उनीहरुको छ। राष्ट्रिय टिममा विद्रोह गरेका उनीहरुले राष्ट्रिय टिमको फोसबुक ग्रुप पनि लिभ गरेको बताइएको छ।