
नेपाली टेनिस खेलाडी अभिलाषाको जोडीले पाकिस्तानमा जित्यो स्वर्ण
नेपालकी अभिलाषा विष्टको जोडीले आईटीएफ पाकिस्तान अन्तर्राष्ट्रिय जुनियर टेनिस प्रतियोगितामा स्वर्ण जितेको छ। प्रतियोगिताअन्तर्गत सर्किट– १ को गल्र्स डबल्समा अभिलाषा र अमेरिकाकी तेलर ग्योइत्जले जोडीले शुक्रबार स्वर्ण जितेको हो।
पाकिस्तानको इस्लामाबादमा भइरहेको प्रतियोगिताको फाइनलमा अभिलाषा र तेलरको जोडीले रोमानियाकी डारिया स्टेफानिया र नेपालकी सर्वानी श्रेष्ठको जोडीलाई ६–१ र ६–२ को सोझो सेटमा सहजै पराजित गरे ।
त्यसअघि विजेता जोडीले सेमिफाइनलमा पाकिस्तानी जोडीमाथि पनि सहज जित निकाल्ने क्रममा ६–० र ६–१ को प्रदर्शन गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले जनाएका छन् ।
ब्वाइज डबल्समा भने नेपाली जोडीले रजतमा चित्त बुझाए । नेपालबाट आरभसम्राट हाडा र अकि जुवेन रावतले प्रतिस्पर्धा गरेका थिए । उनीहरुलाई प्रतिस्पर्धात्मक फाइनलमा टर्कीका अहनेट अताबे र आयरल्यान्डका युनेश तलाबारको जोडीले ६–०, ३–६ र ११–९ को सेटमा हराए।