इटालियन सिरी एअन्तर्गत आइतबार राति भएको मिलान डर्बीमा इन्टर विजयी भएको छ । लाउटारो मार्टिनेज र रोमेलु लुकाकु चम्किएपछि मिलान डर्बीमा इन्टर मिलानले एसी मिलानमाथि ३–०को सहज जित निकाल्यो ।
इन्टरको जितमा लाउटारो मार्टिनेजको दुई तथा रोमेलु लुकाकुको एक गोल गरे । सानसिरोमा भएको खेलको पाँचौ मिनटेमै मार्टिनेजले लुकाकुको पासमा गोल गर्दैैइन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए। पहिलो हाफ १–०मै सकियो।
दोस्रो हाफमा इन्टरले दुई गोल थप्यो। ५७औं मिनेटमा इभान पेरिसिकको पासमा मार्नटेनेजले पुनः गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे भने ६६औं मिनेटमा पेरिसिककै पासमा लुकाकुले इन्टरका लागि तेस्रो गोल गरे ।
जितपछि इन्टरले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाएको छ। उसको २३ खेलबाट ५३ अंक भएको छ । समान खेलबाट एसी मिलानको ४९ अंक छ ।
यसैगरी सिरि एअन्तर्गत नै आइतबार राति नै भएको अर्को खेलमा एट्लान्टा विजयी भएको छ। घरेलु मैदानमा एट्लान्टाले नापोलीमाथि ४–२को सहज जित निकाल्यो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो हाफमा सम्भव भएको थियो। ५२औं मिनेटमा डुभान जापटाको गोलमा एट्लान्टाले सुरुवाती अग्रता लियो। ५८ औं मिनेटमा नापोलीका जिलिन्सकीले गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आयो।

त्यसपछि ६४औं मिनेटमा रोबिन गोसेन्स र ७१औं मिनेटमा लुइस फर्नान्डेस मुरिअल फ्रुटोले गोल गरेपछि एट्लान्टाले ३–१को अग्रता लियो। ७६औं मिनेटमा गोसेन्सले आफ्नै पोस्टमा गोल गरेपछि खेल ३–२ को अवस्थामा आयो। त्यसपछि ७९औं मिनेटमा क्रिस्टियन रोमेरोले गोल गर्दै एटलान्टालाई ४–२ को जित दिलाए।
जितसँगै एटलान्टा लिगको चौथो स्थानमा उक्लिएको छ । उसको २३ खेलमा ४३ अंक छ। नापोली ४० अंक जोडेर सातौं स्थानमा रहेको छ ।