क्लब फुटबलफुटबलसमाचार

मछिन्द्र र पार एफसीबीचको खेलको टिकट बिक्री ई–सेवाबाट किन्न सकिने

मछिन्द्र फुटबल क्लब र भुटानको पारो एफसीविरुद्ध दशरथ रंगशालामा साउन २३ गते हुने एएफसी कप २०२३ प्ले–अफ छनोटको प्रारम्भिक चरणको खेलको टिकट ई–सेवा मार्फत किन्न सकिने भएको छ।

मछिन्द्रसँग टिकेटिङ अधिकार लिएको माउन्ट एभरेस्ट स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट कम्पनीले मछिन्द्रको खेलको टिकट बिक्रीको ई–सेवासँग सम्झौता गरेको छ।

मछिन्द्र र पारोको खेल कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्ने छ।

ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाटेडले एएफसी क्लब लाइसेन्स नपाएपछि लिगमा दोस्रो भएको मछिन्द्रले एएफसी कप खेल्ने अवसर पाएको हो। मछिन्द्रले लगाार दोस्रो पटक एएफसी कप खेलेको हो।

गत वर्ष दशरथ रंगशालामा श्रीलंकाको ब्लुस्टारविरुद्ध २–१ ले हारेपछि मछिन्द्रको डेब्यु छनोटको प्रारम्भिक चरणमै टुंगिएको थियो।

मुख्य प्रशिक्षक किशोर केसीले सम्हालेको टिमले यसपालि प्रारम्भिक चरणको पहिलो खेलमा सफलता हात पार्ने आशा गरिएको छ। त्यसका लागि उसले भुटानी लिग च्याम्पियन पारोलाई पराजित गर्नुपर्नेछ।

मछिन्द्रले पारोलाई पराजित गर्न सके प्रारम्भिक चरणको दोस्रो खेलमा इन्डियन सुपरलिग क्लब मोहन बगानविरुद्ध साउन ३१ गते कोलकातामा सामना गर्नेछ । त्यसैले प्रारम्भिक चरणमा दुई खेल जितेपछि मात्रै मछिन्द्र प्लेअफमा पुग्न सक्छ र दक्षिण एसियाबाट प्लेअफमा सफलता हात पार्ने एक टिमले एएफसी कप २०२३ को समूह चरणमा स्थान पाउने छ ।

दुईपल्टको सहिद स्मारक ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले घरेलु फुटबलमा चर्चित स्ट्रइकर मेसुके ओलोमोउसहित आशिष चौधरी, एरिक विष्ट, आयुष घलान, लाकेन लिम्बू, सनिष श्रेष्ठ, रेजिन सुब्बा र रोहित सुब्बालाई अनुबन्ध गरिसकेको छ।