बुर्किना फासोलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै आयोजक क्यमानरुन अफ्रिका कप अफ नेसन्समा तेस्रो भएको छ ।
शनिबार राति भएको खेलमा तीन गोलले पछि परेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै निर्धारित समयमा बराबरी खेलेको क्यामरुनले बुर्किना फासोलाई सुटआउटमा ५-३ ले पराजित गरेको हो ।
कप्तान भिनसेन्ट अबुबाकरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै अन्तिम ५ मिनेटभित्र दुई गोल गरेपछि क्यामरुनले शानदार कमब्याक गरेको थियो । अबुकारकले ८५औं र ८७औं मिनेटमा गोल गरे । त्यसअघि स्टेफान बाओकेनले ७१औं मिनेटमा गोल गर्दै क्यामरुनलाई खेलमा फर्काएका थिए ।
बुर्किना फासोले भने तीन गोलको अग्रता कायम राख्न सकेन । उसका लागि खेलको २४औं मिनेटमा स्टिभ यागोले गोल गर्दै अग्रता दिलाएका थिए । यस्तै ४३औं मिनेटमा क्यामरुनका गोलकिपर आन्द्रेल ओनानाले आत्मघाती गोल गरेपछि बुर्किना फासोले अग्रता दोब्बर बनायो । ४९औं मिनेटमा डिबिली आउटाराले गोल गर्दै बुर्किना फासोले ३-० को अग्रता दिलाए तर कायम राख्न सकेन ।