अजित र हुमी च्याम्पियन

पिनाकलका अजितकुमार यादव र शहिद रामनाथकी हुमी बुढा मगरले दोस्रो टाइम्स सडक दौडको उपाधि जितेको छन् ।

शनिबार भएको दौडको ५ किलोमिटर दूरीको स्पर्धामा अजित ब्वाइज तथा हुमी गल्र्समा पहिलो भएका हुन् । गत संस्करणमा पनि दुवै च्याम्पियन बनेका थिए ।

द टाइम्स इन्टरनेसनल कलेजद्वारा आयोजित दौडको निर्धारित दूरी अजितले १६ मिनेट २५ सेकेन्डमा पूरा गरे । यो स्पर्धामा अजितको व्यक्तिगत उत्कृष्ट समय १४ मिनेट ५२ सेकेन्ड रहेको छ । ३ किलोमिटर दौडमा भने अजितको नाममा ८ मिनेट ४४ सेकेन्डको जुनियर राष्ट्रिय कीर्तिमान छ ।

पिनाकलकै उमेश मगर दोश्रो तथा बाढीनालिका उमाविका सन्तोषनाथ योगी तेश्रो भए । उमेशले १७ मिनेट २१ सेकेन्ड तथा सन्तोषले १७ मिनेट २२ सेकेन्ड समय खर्चे ।

हुमीले २१ मिनेट ३२ सेकेन्डमा निर्धारित दूरी तय गरिन् । हुमीको ५ किलोटिमरमा व्यक्तिगत उत्कृष्ट टाइमिङ १९ मिनेट ४० सेकेन्ड रहेको छ । २२ मिनेट २० सेकेन्ड समय निकालेकी गणेशमान सिंह बहुमुखी क्याम्पसकी रशिला तामाङ दोश्रो तथा २३ मिनेट ०३.९ सेकेन्ड समयमा मेगा नेसनल कलेजकी काजोल विष्ट तेश्रो भए ।

ब्वाइज गल्र्स दुवैमा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कारसहित गिफ्ट ह्याम्पर पाए । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत नेपाल खेलकुद विज्ञान प्रतिष्ठान (सान) का पूर्व निर्देशक डा. प्रकाश प्रधानले पुरस्कार प्रदान गरे ।

यस्तै पुरस्कार वितरण कार्यक्रममा टाइम्सका प्रबन्ध निर्देशक दीपक न्यौपाने, टाइम्सका प्रिन्सिपल शंकरप्रसाद गैरे, कार्यक्रम संयोजक सोनु थापा, टाइम्स क्लबका इन्चार्ज राजनप्रसाद पोखरेललगायतको उपस्थिति थियो । दौडमा १ सय ७५ प्रतिस्पर्धी सहभागी थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP