ओलम्पिक खेल्न टोकियो गए एलेक्स

टोकियो ओलम्पिक खेल्नका लागि नेपाली पौडी खेलाडी एलेक्स शाह जापान गएका छन्। वाइल्ड कार्डमार्फत टोकियो ओलम्पिकमा सहभागी हुन लागेका एलेक्स सोमबार प्रशिक्षक शंकर कार्कीसँगै जापान प्रस्थान गरेका हुन्।

एलेक्ससँगै पौडीमा गौरिका सिंह पनि सहभागी हुँदै छिन्। गौरिका बेलायतबाटै जापान जाने छिन्। टोकुशिमामा दुई साता अभ्यास गरेपछि नेपाली पौडी खेलाडीहरू २० जुलाईमा ओलम्पिक भिलेजमा पुग्नेछन्।

दुवै खेलाडीले टोकियो ओलम्पिकमा १०० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछन्।

१३औं सागमा पदकविहीन भए पनि एलेक्सले नेपाली पौडी टिमको पुरुषतर्फ उत्कृष्ट प्रदर्शन गर्दै राष्ट्रिय कीर्तिमान बनाएका थिए। जसका कारण उनी ओलम्पिकको वाइल्ड कार्डका लागि सिफारिस भएका थिए। गौरिकाले १३औं सागमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक गरी नौ पदक जितेकी थिइन्।

एलेक्स र गौरिकासँगै टोकियो ओलम्पिकमा नेपालको तर्फबाट एथलेटिक्सको सय मिटर दौडमा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोबाट सोनिया भट्टले प्रतिस्पर्धा गर्नेछन्।

टोकियो ओलम्पिक यहि २३ जुलाई देखि ८ अगस्टसम्म हुँदैछ।

Facebook Comments Box