म्यान्चेस्टर युनाइटेडका स्ट्राइकर एलेक्सिस सान्चेजको उत्कृष्ट प्रदर्शनको मद्दतमा डिफेन्डिङ च्याम्पियन चिली ४६औं संस्करणको कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
ब्राजिलमा जारी प्रतियोगिताअन्तर्गत शनिबार बिहान भएको समूह सीको दोस्रो खेलमा इकवेडरलाई २–१ ले पराजित गर्दै चिली क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
चिलीको जितमा सान्चेज र जोसे पेड्रो फियन्जालिडाले १–१ गोल गरे भने इक्वेडरका इन्नर भ्यालेन्सियाले गोल गरे ।
फियुनजालीडाले खेलको ८औं मिनेटममै गोल गर्दै चिलीलाई अग्रता दिलाएका थिए । खेलको २६ औं मिनेटमा भ्यालेन्सियाले गोल गर्दै इक्वेडरलाई १–१ गोलको बराबरीमा ल्याएका थिए । चिलीका गोलरक्षकले इक्वेडरका खेलाडीलाई लडाएपछि इक्वेडरले पेनाल्टी पाएको छ । तर, खेलको ५१ औं मिनेटमा सान्चेजले गोल गर्दै चिलीलाई २–१ को जित दिलाए ।
खेलको ८९ औं मिनेटमा गाब्रियल एचिलरले रातो कार्ड पाएपछि अन्तिम केहि मिनेट इक्वेडर १० खेलाडीमा समेटिएको थियो ।
समूह ’सी’ को चिलीले २ खेलबाट ६ अंक जोडेको छ । पराजित इक्वेडर भएको २ खेलमा अंकविहीन हुँदै तालिकाको पुछारमा छ । यस समूहमा उरुग्वेको ४ र जापानको १ अंक रहेको छ ।