अफगानिस्तानको हारसँगै भारत बाहिरियो, न्युजिल्यान्ड सेमिफाइनलमा

उपाधि दाबेदार मानिएको भारत युएई र ओमानमा संयुक्त रुपमा आयोजना टी–२० विश्वकपमा भारत समूह चरणबाटै बाहिरिएको छ। आबुधावीमा आइतकार भएको सुपर १२को समूह २ को खेलमा अफगानिस्तान न्युजिल्यान्डसँग पराजित भएसँगै भारत समूह चरणबाटै बाहिरिएको हो।

अफगानिस्तानलाई आठ विकेटले हराउँदै न्युजिल्यान्ड भने सेमिफाइनलमा पुगेको छ । यो समूहबाट यसअभि नै पाकिस्तान सेमिफाइनलमा पुगिसकेको थियो। प्रतियोगितामा भारतले भोलि नामिबियाको सामाना गर्दैछ। तर, नामिबियाविरुद्धको खेलअघि नै भारत बाहिरिएको हो। न्युजिल्यान्डविरुद्ध अफगानिस्तान विजयी भएको भारतको सेमिफाइनल आशा बाँकी रहने थियो।

भारत सुरुआती दुई खेलमा न्युजिल्यानड र पाकिस्तानसँग पराजित भएको थियो। त्यसपछि उसले अफगानिस्तान र स्कटल्यान्डलाई हराएको थियो। सुरुआती दुई हार नै भारतको सेमिफाइनल यात्रामा बाधक बन्यो।

अफगानिस्तानले दिएको १२५ रनको लक्ष्य न्युजिल्यान्डले १८.१ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। उसका लागि कप्तन केन विलियम्सनले सर्वाधिक ४० रन बनाउँदा डेभोन कोन्वेले ३६ रन बनाए। यस्तै, मार्टिन गुप्टिलले २८ र डार्यल मिचेलले १७ रनको योगदान दिए। अफगानिस्तानका रसिद खान र मुजिब उर रहमानले समान १ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेको अफगानिस्तान निर्धाीरत ओभरमा ८ विकेट गुमाउँदै १२४ रन मात्र बनाउन सक्यो। उसका नाजिबुल्लाह जद्रान ४८ बलमा ६ चौका र ३ छक्का प्रहार गर्दै ७३ रन बनाए पनि अन्यले गतिलो योगदान दिन नसक्दा उसले ठूलो योगफल बनाउन सकेन।

यस्तै, गुल्बादिन नइबले १५ र मोहम्मद नाबीले १४ रन बनाए। अफगानिस्तानलाई सस्तैमा रोक्ने क्रममा ट्रेन्ट बोल्टले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट लिए भने टिम साउथी २ विकेट लिए।