‘अल्मुताइरीले गल्ती गरे’

अखिल नेपाल फुटबल संघ (एन्फा)का कार्यसमिति सदस्य तथा पूर्व प्रवक्ता किरण राईले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबाट गल्ती भएको टिप्पणी गरेका छन्। एन्फाका वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङलाई मुख्य प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमा लगाएको आरोप प्रशिक्षकको अनुशासनको दायराभन्दा बाहिर भएको उनको भनाइ छ।

‘समाचारमा लाइक गरेको आधारमा, एउटा पोस्टमा लाइक गरेको आधारमा संस्थाको वरिष्ठ उपाध्यक्षलाई सार्वजनिक रुपमा फेसबुकमार्फत् प्रशिक्षकले जुन आरोप लगाउनुभयो, त्यो अनुशासनको दायराभन्दा बाहिर गएको देखिन्छ। त्यो हिसाबमा प्रशिक्षकबाट गल्ती भएजस्तो लाग्छ,’ फुटबल विवाद छानबिनका लागि राष्ट्रिय खेलकुद परिषद्ले गठन गरेको छानबिन समितिलाई बयान दिएर बाहिर निस्कने क्रममा पूर्व प्रवक्ता राईले भनेका छन्।

एक साताअघि बसेको एन्फाको आकस्मिक कार्यसमितिको बैठकबाट प्रशिक्षक र उपाध्यक्षको घटना छानबिनका लागि एन्फाले खेलकुद मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको थियो । सोहीको आधारमा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्लाई समिति गठन गरेर छानबिन गर्न निर्देशन दिएको थियो ।

राईले भने एन्फाको मामिला अन्यत्र छानबिन भइरहेको विषयमा असन्तुष्टी व्यक्त गरेका छन्। फुटबलको विवाद एन्फामै समाधान गरिनुपर्नेमा ‘ट्रयाक’बाट बाहिर गएको उनले बताए।

‘यो विवाद एन्फाले नै समाधान गर्नु पथ्र्यो। एन्फामा अनुशासन कमिटी, अपिल कमिटि थियो। यस्ता घटनाका बारेमा विधानमै व्यवस्था गरिएको छ,’ उनले भने, ‘त्यसैले यो ‘ट्रयाक’ भन्दा बाहिर गयो भन्ने हो।’

एन्फाको विधानमा उल्लेख भएअनुसार फुटबलको विवाद आन्तरिक रुपमा समाधान नगरेर तेस्रो पक्षलाई छानबिन गर्न दिनु गलत नजीर भएको भन्दै उनले एन्फा प्रवक्ताको पदबाट राजीनामा दिएका थिए। बयानका लागि बोलाइएका पूर्व प्रवक्ता राईले कुनै पनि पक्षमा नलागी आफ्नो दृष्टिकोणमा जे सही थियो सोही बयान दिएको बताएका छन्।

मन्त्रालयको निर्देशन अनुसार राखेपले बोर्ड सदस्य पुरेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको थियो।