अखिल नेपाल फुटबल संघ (एन्फा)ले नेपाली राष्ट्रिय फुटबल टोलीका १० खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीबीचको विवादको सत्यतथ्य पहिचान गर्न समिति गठन गरेको छ।
आइतबार एन्फा मुख्यालयमा बसेको कार्यसमिति बैठकले भिक्टर शमसेर राणाको संयोजकत्वमा तीन सदस्य रहने गरी समस्या, पहिचान र सुझाव समिति गठन गरेको हो।
नेपाली सेनाका पूर्व रथी भिक्टर राणाको संयोजकत्वमा रहेको समितिमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका उपाध्यक्ष दीपक थापा र पूर्वराष्ट्रिय फुटबलर विदुर विष्ट सदस्य छन्। समितिले ७ दिन भित्र छानबिन गरेर एन्फालाई प्रतिवेदन पेस गर्नेछ।
खेलाडी र प्रशिक्षकबीच विवादको विषयको छानबिनका लागि एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्षद्वय वीरबहादुर खड्का, कृष्ण थापा र सदस्य दावा लामाले कार्यसमित बैठकमा माग गरेका थिए।
मुख्य प्रशिक्षक अल्मुताइरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै वैशाख १३ गते १० खेलाडीले क्याम्प छाडेका थिए।
क्याम्प छाडेका खेलाडीले अल्मुताइरीको प्रशिक्षणमा खेल्न नसक्ने बताउँदै आएका छन्।