°
, June 7, 2023 in

मोफसलका सबै गोल्डकपलाई एन्फाले दियाे समय

SHARE:

मोफसलमा आयोजन हुने सबै गोल्डकपका लागि एन्फाले समय दिएको छ। एन्फाले मोफसलमा हुने गोल्डकपका सहिद स्मारक ए डिभिजन लिगलाई मध्यनजर गर्दै समय तोकेका हो।

एन्फाले मंगलबार मोफसलका ११ वटा नकआउट प्रतियोगिताको मिति निर्धारण गरेको हो। जसअनुसार माघ २६ देखि फागुन ६ गतेसम्म सर्लाहीमा राजर्शी जनक गोल्डकप र महोत्तरीमा मेयर कप फुटबल आयोजना हुनेछ।

यस्तै, माघ २९ देखि फागुन ९ गतेसम्म मकवानपुरमा मकवानपुर गोल्डकप आयोजना हुनेछ । यी तीन प्रतियोगितामध्ये ए डिभिजन टिमले बढीमा दुईवटामा मात्र सहभागिता जनाउन एन्फाले जनाएको छ।

दोस्रो मितिअनुसार एन्फाले फागुन ७ देखि १६ गतेसम्मको समय छुट्याएको छ। जसअनुसार फागुन ७ देखि १६ गतेसम्म झापामा भद्रपुर गोल्डकप र रुपन्देहीमा तिलोत्तमा गोल्डकप आयोजना हुने छ।

यस्तै, एन्फाले फागुन ११ देखि २० गतेसम्मलाई तेस्रो मिति निर्धारण गरेको छ। यो समयमा फागुन ११ देखि १७ सम्म काठमाडौंमा केपी ओली कप र फागुन १३ देखि २० सम्म सुनसरीमा बुढासुब्बा गोल्डकप आयोजना हुनेछ।

त्यसपछि दुई साता काठमाडौंमा ए डिभिजन लिगका पाँच चरणको खेल सञ्चालन हुनेछ । फागुन १९ देखि चैत ४ गतेसम्मका लागि ए डिभिजन लिग हुनेछ।

चैत ४ देखि ११ गतेसम्मको समय नकआउट प्रतियोगिताका लागि एन्फाले दिएको चौथो मिति हो । यो समयमा इलाममा माइभ्याली गोल्डकप र सुनसरीमा इटहरी गोल्डकप आयोजना हुनेछ ।

पाँचौं मितिका रुपमा चैत ९ देखि १८ गतेसम्मको समय छ । यो समयमा मोरङमा विराट गोल्डकप र बारामा सिमरा गोल्डकप आयोजना हुनेछ।

ए डिभिजन टिमले एउटा मितिमा एउटामात्र प्रतियोगिता खेल्न पाउने नियम कडाइका साथ लागू गर्ने एन्फाले बताएको छ। चैत ४ मा ए डिभिजन लिगलाई विश्राम दिएर क्लबहरुलाई नकआउट प्रतियोगिताका लागि उपलब्ध गराइनेछ।

SHARE: