ए डिभिजन लिगको मुख्य प्रायोजक कतार एयरवेज

नेपालको शीर्ष डिभिजन लिग ‘सहिद स्मारक ए डिभिजन लिग’लाई कतार एयरवेजले प्रायोजन गरेकोछ। बुधबार एक कार्यक्रमबीच अखिल नेपाल फुटबल संघ (एन्फा)ले मुख्य प्रायोजनका लागि कतार एयरवेजसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको छ।

कतार एयरवेजले १ वर्षका लागि लिगलाई मुख्य प्रायोजन गरेको हो। अघिल्लो सिजन पनि कतार एयरवेजले ए डिभिजन लिगलाई प्रायोजन गरेको थियो।

सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार एयरवेजका कन्ट्री म्यानेजर मोहम्मद इल इमानले हस्ताक्षर गरे । प्रायोजन वापत कतार एयरवेजले एन्फालाई १ लाख ५० हजार अमेरिकी डलर उपलब्ध गराउनेछ।

कतार एयरवेजका मोहम्मदले नेपाली फुटबलको विकासका लागि प्रायोजन गरिएको र यसमा खुसी भएको बताए । उनले यो सम्झौता नेपाली फुटबल विकासका लागि आफूहरुको प्रतिवद्धता भएको उनले बताए। यस्तै एन्फा अध्यक्ष अध्यक्ष कर्माछिरिङ शेर्पाले कतार एयरवेजसँगको सम्झौता नवीकरण गर्न पाएकोमा खुशी व्यक्त गरे।

ए डिभिजन लिग मंसिर ३ गतेबाट सुरु हुनेछ । लिगका सुरुआती २ चरणका खेल दशरथ रंगशालामा मात्र आयोजना हुनेछ। एन्फाले मंगलबारमात्र लिगको नयाँ तालिका सार्वजनिक गरेको थियो। जसअनुसार दुई चरणका खेल सातामा ४ दिन आयोजना हुनेछ । ३ दिन २ खेल आयोजना हुने छ भने १ दिन एउटा मात्र खेल हुनेछ। दुई खेल भएको दिन पहिलो खेल १ बजे र दोस्रो खेल अपरान्ह ४ः४५ बजे सुरु हुनेछ। एउटा खेल हुँदा अपरान्ह खेल ४ः४५ बजे हुनेछ।

मंसिर ३ गते हुने उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। फ्लड लाइटमा हुने खेल खेल ४ः४५ बजे सुरु हुने छ।

एन्फाले यसपटक लिग हेर्नका लागि टिकट मूल्य साधारण प्यारापिटतर्फ एकसय र भिआईपीतर्फ ५ सय रुपैयाँ तोकेको छ। दशरथ रंगशलामा हुने खेलहरु कान्तिपुर टेलिभिनबाट प्रत्यक्ष प्रशारण हुनेछ।

यस्तै लिगका खेलहरु च्यासल फुटबल मैदानमा पनि गर्ने तयारी एन्फाले गरेको छ । साथै पहिलो पटक काठमाडौं बाहिर पोखरामा पनि लिगका खेलहरु गर्ने एन्फाको योजना छ ।