सहिद स्मारक ए डिभिजन लिगको कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने भएको छ । कात्तिक २९ गतेबाट सुरु हुने लिगको प्रत्यक्ष प्रशारणका लागि एन्फाले बिहीबार कान्तिपुर टिभीसँग सम्झौता गरेको छ।
सम्झौता पत्रमा एन्फा महासचिव इन्द्रमान तुलाधर र कान्तिपुर टेलिभिजिनका मार्केटिङ म्यानेजर गौरी दाहालले हस्ताक्षर गरेका छन् । हस्ताक्षर कार्यक्रममा एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र कान्तिपुरका सुरजसिंह ठकुरीको पनि उपस्थित थिए।
ए डिभिजन लिग यो पटकबाट विभिन्न चारवटा मैदानमा आयोजना हुने भएपछि दशरथ रंगशालामा हुने खेलमात्र कान्तिपुर टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ। लिग च्यासल, एन्फा कम्प्लेक्स र पोखरा रंगशालामा आयोजना हुनेछ।
१४ टिम सहभागी लिगको उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र सातदोबाटो युथ क्लब भिड्ने छन्। उद्घाटन खेल फ्लर्ड लाइटमा हुनेछ।