नेपालमा लामो समयसम्म फुुटबल गतिविधि भएको छैन। फुटबलको मेरुदण्ड मानिएको लिग लामो समयसम्म हुन नसकेपछि खेलाडी निराश बनेका छन्, विदेशिन बाध्य भएका छन्। यसैवर्षमात्र राष्ट्रिय टिमका आधा दर्जनभन्दा बढी नेपाल विदेश पलायन भएका छन्।
यही सन्दर्भलाई लिएर नेपाली राष्ट्रिय टिमका मुख्य स्ट्राइकर अञ्जन विष्टले आक्रोश पोखेका छन्। उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै फुटबल नहुँदा खेलाडी विदेशिनु पर्ने अवस्था आउँदा पनि एन्फा चिन्तित नबनेको दुःख व्यक्त गरेका छन्।
‘अवस्था फेरिएको छ, मजस्तो फुटबललाई नै आफ्नो सबथोक मानेर हिँडेको खेलाडी फुटबल खेल्नबाट बञ्चित हुँदासमेत हाम्रो अभिभावक एन्फा किन यस्तो ढिलासुस्ति गर्दै छ ?’ अञ्जनले लेखेका छन्, ‘लिग तपाईहरूले गर्ने हो कि कस्ले ? पटक–पटक लिग सार्दा तपाईहरूलाई खेलाडीहरुको चिन्ता लाग्दैन ? अझै धेरै खेलाडीहरू विदेशिएको देख्न चाहानुहुन्छ ?’
अञ्जनले नेपालजस्तो सुन्दर देशमा जन्मन पाउनु गर्वको कुरा भएको उल्लेख गर्दै फुटबललाई मनबाट माया गर्ने लाखौं समर्थक भएको देशको फुटबलर हुन पाउँदा पनि निकै खुसी लाग्ने बताएका छन्।
सन् २०१४बाट राष्ट्रिय टिमको नियमित सदस्यका अञ्जनले एन्फासँग मात्र होइन ए डिभिजन क्लबहरुसँग पनि रुष्ट बनेका छन्। लिग खेलन केही क्लबहरु तयार नभएको प्रति अञ्जनले लेखेका छन्, प्रिय एडिभिजन क्लबहरू तपाईहरू कहिले हुनुहुन्छ तयार लिग खेल्न ? केही क्लब तयार नभएको सुन्छु, आर्थिक भार बढ्छ रे एन्फाले समयमा नै पैसा उपलब्ध नगराएकोमा । तपाईंहरुको मेहेनत बिना एन्फाको अनुदानमा मात्रै आजसम्म नेपाली फुटबलमा तपाईंहरुले आफ्नो क्लबको इतिहास राख्नु भएको त पक्कै होइन होला ?’
नेपालका लागि ५२ खेल खेल्दै ११ गोल गरेका अञ्जनले क्लब आवश्यकता र चिन्ता पनि आफ्नो पनि सम्मान भएको उल्लेख गरेका छन्। ‘हिजोदेखि आजसम्मको घरेलु फुटबलको इतिहासलाई पनि फर्केर हेर्नुस् त, नेपालमा कति पटक लिग रोकियो क्लब र एन्फाको लफडामा ? कति खेलाडीहरु पलायन भए, तपाईंहरुसँग लेखाजोखा छ ?,’ उनले लेखेका छन् ।
अञ्जनले खेलाडीको जीवन चाहिँ जीवन होइन ? खेलाडीलाई परेको आर्थिक भार कसले बुझ्ने ? भन्दै एन्फा र क्लबलाई प्रश्न गरेका छन्। उनले खेलेका छन्, ‘खेलाडीको जीवन चाहिँ जीवन होइन ? खेलाडीलाई परेको आर्थिक भार कसले बुझ्ने ? हुन पनि बिचरा हामी खेलाडीले के नै गर्न सक्छौं, त्यही आवाज उठाउँछौं, त्यो पनि कसले पो सुन्छ र ?’
एक अर्कालाई दोष लगाउने होइन, नेपाली फुबटल र खेलाडीलाई माया गर्न आग्रह गरेका छन् । उनले अञ्जनले यही स्थितिमा देशको फुटबलको स्तर नबढ्ने पनि बताएका छन्।
यसरी पनि देशको फुटबलको स्तर बढ्छ र ? एन्फाका पदाधिकारीज्यूहरू, एडिभिजन क्लबहरु, यसरी हाम्रो देशको फुटबल कहाँ पुग्छ?’, उनले भनेका छन्, नेपाली फुटबल र नेपाली खेलाडीको पनि माया गर्नुस्, आखिर कहिलेसम्म एकले अर्कोलाई दोष लगाउँदै लिगलाई पर धकाल्नु हुन्छ ? खेलाडीहरुको रगत– पसिनामा कहिलेसम्म तपाईंहरू आफ्नो स्वार्थपूर्ति गर्नुहुन्छ ?’