मनाङ छाडेका अञ्जन चर्च बाेइजमा, तलब मासिक २ लाख

नेपाली राष्ट्रिय टिमको स्ट्राइकर अञ्जन विष्टले नेपालकै सबैभन्दा सफल क्लब मनाङ मर्स्याङ्दी छाडेका छन्। मंगलबार राति फेसबुकमा स्टास खेल्दै मनाङ छाड्ने घोषणा गरेका हुन्।

मनाङ छाडेलगत्तै अञ्जन यसै सिजन ए डिभिजन लिगमा बढुवा भएको चर्च बोइजमा आबद्ध भएका छन् । उनले चर्च बोइजसँग १ वर्षको सम्झौता गरेका छन्।

२४ वर्षीय अञ्जनले चर्चा बोइजसँग मासिक २ लाख बढी पाउने गरी अनुबन्धन गरेको बताइएको छ।

अञ्जन सन् २०१८मा मनाङमा आबद्ध भएका थिए। उनले अन्य क्लबबाट निकै राम्रो प्रस्तावहरू आए पनि मनाङलाई मनैदेखि माया गर्ने समर्थकको मायाले गर्दा अन्त जाने सोच नआए पनि अहिले बाध्य भएर क्लब छाडेको उनले बताएका छन्।

‘सानैदेखि मनाङबाट खेल्ने आफ्नो सपना रहेको र मनाङको जर्सी लगाएर खेल्दा आफूले भाग्यमानी ठानेको उल्लेख गर्दै पछिल्लो समय मनाङलाई केही व्यक्तिहरुको स्वार्थ अनुसार चलाउन खोजेपछि सम्बन्ध टुङ्गाएको छु,’ अञ्जनले भनेका छन्।

क्लबको हितभन्दा व्यक्तिगत स्वार्थअनुसार क्लबलाई चलाउन खोजे भन्दै मनाङले खेलाडीको मनोबल गिराउने कार्य भइरहेको क्लब छाड्न बाध्य भएको बताएका छन् ।

‘आज निकै भावुक हुँदै तपाईहरू बिच निकै दुखका साथ केही उद्घोष गर्दैछु । सानोमा फुटबल खेल्न सुरू गर्दा देखि नै ठूलो भएर एकदिन मनाङ मर्स्याङ्दी क्लबबाट खेल्ने सपना देखेको थिए र पहिलो पल्ट मनाङको जर्सी लगाएर खेल्दा निकै भाग्यमानी ठानेको थिएँ,’ अञ्जनले लेखेका छन् ।

नेपाली राष्ट्रिय टिमका मूख्य स्ट्राइकर अञ्जनले नेपालबाट ११ गोल गरेका छन्। पछिल्लो समय मनाङको कप्तानसमेत रहेका अञ्जनले मनाङबाट ए डिभिजन उपाधि जितेका छन्।