नेपाली राष्ट्रिय टिमका स्टार स्ट्राइकर अञ्जन विष्टले भारतको शीर्ष डिभिजन लिग आई लिगमा डेब्यु गरेका छन्। मुम्बई केन्क्रेमा आबद्ध अञ्जनले आइतबार डिफेन्डिङ च्याम्पियन गोकुलम केरालाविरुद्ध डेब्यू गरेका हुन्।
स्टार्टिङ लाइनअपमै रहेका अञ्जनले पुरै ९० मिनेट मैदानमा बिताएका थिए। तर, अञ्जनको डब्यू सुखद् हुन सकेन् ।
उनको टिम १० खेलाडीमा सीमित डिफेन्डिङ च्याम्पियन गोकुलम केरलासँग १–०ले पराजित भयो । गोकुलमको जितमा सर्जियो मेन्डीले २१औं मिनेटमा गरेको गोल नै निर्णायक भयो।
दोस्रो हाफको सुरुआतमै गोकुलम १० खेलाडीमा समेटियो । उसका राहुल राजु ५५औं मिनेटमा रातो कार्ड पाएका थिए।
गोकुलमसँग पराजित भएपछि रेलिगेसन जोनमा रहेको केन्क्रेलाई दबाब बढेको छ । १४ खेलमा ३ जितमात्र निकालेको केन्क्रे १३ अंकसहित पुछारबाट दोस्रो स्थानमा छ। गोकुलम भने २४ अंकसहित तेस्रो स्थानमा छ।
२८ अंक जोेडेको राउन्डग्लास पञ्जब शीर्ष स्थानमा छ। पञ्जबबाट नेपाली टिमका कप्तान किरण चेम्जोङ पनि खेल्छन्।
ए डिभिजन लिगका लागि नवप्रवेशी चर्च ब्वाइज युनाइटेडमा आबद्ध भएका अन्जन क्लबको सहमतिमा आई लिग खेल्न गएका हुन्। आई लिग सकिएपछि अञ्जनले पुन ए डिभजिन लिग खेल्ने छन्। ए डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुनेछ।