एनभिए भलिबल : महिलातर्फ एपिएफ र न्यु डाइमन्ड फाइनलमा

काठमाडौंमा जारी छैठौं संस्करणको एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपमा महिलातर्फ विभागीय टिम एपिएफ र न्यु डाइमन्ड स्पोर्ट्स एकेडेमी फाइनलमा प्रवशे गरेका छन्। शुक्राबार राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिफाइलनमा एपिएफले अर्को विभागीय टिम त्रिभुवत आर्मी क्लब र न्युडाइमन्डले पुलिस क्लबलाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्।

एपिएफ र आर्मीबीचको सेमिफाइनलमा निकै प्रतिस्पर्धात्मक बन्यो । खेल ५ सेटसम्म चलेको थियो । एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा हरायो । सो खेलको पाँचमध्ये ३ सेट टाइब्रेकरमा पुगेको थियो।

पहिलो सेटमा एपीएफले टाइब्रेकरमा २७–२५ ले आफ्नो पक्षमा पार्दा दोस्रो सेट आर्मीले २५–२१ ले जित्यो। तेस्रो सेट आर्मीले टाइब्रेकरमा २७–२५ ले जित्दै खेलमा अग्रता लियो। चौथो सेटमा जित नजिक पुगेको आर्मी रोक्दै एपिएफले टाइब्रेकर २६–२४ ले जित्यो र खेललाई २–२को बराबरीमा ल्यायो । पाँचौ तथा निर्णायक सेट १५–१३ ले जित्दै एपिएफ उपाधि नजिक पुग्यो।

यसैगरी दोस्रो सेमिफाइनलमा न्यु डायमन्डले नेपाल पुलिस क्लबलाई ३–२ कै सेटमा हरायो। खेलमा पुलिसले दुई पटक अग्रता लिए पनि न्य डायमन्डले पुनरागमन गर्दै जित निकाल्यो । पुलिसले पहिलो सेट २५–१८ ले जित्दा दोस्रो सेट न्यु डायमन्डले २५–१७ ले जित्यो । तेस्रो सेट पुनः पुलिसले २५–२१ ले जित्दै खेलमा अग्रता बनायो । तर, चौथो र पाँचौं सकेट २५–१७ र १५–१०ले जित्दै न्यु डायमन्ड फाइनल पुग्यो।

अब एपीएफ र न्यु डायमण्डबीचको फाइनल खेल शनिवार हुनेछ । यस्तै आर्मी र पुलिसबीच तेस्रो स्थानको लागि खेल हुनेछ । विजेताले नगद ४ लाख प्राप्त गर्नेछन् । यस्तै उपविजेताले २ लाख र तेस्रो हुनेले १ लाख पाउनेछन् ।

Facebook Comments Box