हेटौंडाको पिप्ले क्याम्पा रंगशालामा जारी शहिद स्मृति चौथो मकवानपुर गोल्डकपमा आइतबार दुई विभागीय टिम विजयी भएका छन्। आइतबार भएको खेलमा नेपाल पुलिस क्लबले खुमलटार युथ क्लब र एपिएफले फ्रेन्ड्स क्लबलाई पराजित गरे।
नेपाल पुलिस क्लबले यसै वर्ष ए डिभिजन लिगमा बढुवा भएको खुमलटार युथ क्लबलाई २–१ ले हरायो । पुलिसको जितमा अभिषेक रिजाल र भरत साहले गोल गरे भने खुमलटारका अजित लामाले एक गोल फर्काए ।
वर्षाले प्रभावित खेलमा अभिषेकले तेस्रो मिनेटमै पुलिसलाई अग्रता दिलाए । ३५औं मिनेटमा भरतले पुलिसको अग्रता दोब्बर बनाए। ८५औं मिनेटमा अजित लामाले गोल गरेपछि टिमलाई जित दिलाउन सकेनन्।
आइतबार नै भएको अर्को खेलमा एपिएफले फ्रेन्ड्स क्लबमाथि ३–० को जित निकाल्यो। एपिएफ र फ्रेन्ड्सबीचको खेल शनिबार वर्षाका कारण रद्द भएपछि आइबार खेलाइएको थियो । एपिएफको जितमा नवीन लामा, सविन गुरुङ र रबि थिङले गोल गरे ।
जितसँगै दुवै टिम क्वाटरफाइनलमा प्रवेश गरेका छन्। मकवानपुर जिल्ला फुटबल संघले आयोजना गरेको प्रतियोगिताको विजेताले १५ र उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।