
टाइगर कप भलिबल : महिलातर्फ विभागीय डर्बी आर्मीमाथि एपिएफकाे जित, दुवै सेमिफाइनलमा
पोखरामा जारी टाइगर कप अन्तराष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा विभागीय टिम एपिएफ महिलातर्फ अपराजित रहँदै सेमिफाइनलमा पुगेको छ। पोखरा रंगशालाको कभर्ड हलमा बुधबार लिगको अन्तिम खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मीलाई हराउँदै एपिएफ सेमिफाइनलमा पुगेको हो।
बुधबार भएको खेलमा एपिएफले आर्मीमाथि ३–१ को सेटमा जित निमाल्यो । एपीएफले पहिलो सेट २५–१७ ले जितेको थियो भने दोस्रो सेट २२–२५ ले गुमाउन पुगेको थियो । त्यसपछिको तेस्रो र चौथो सेटमा एपीएफले २५–१६ र २५–१५ ले जित्दै एपिएफ सेमिफाइनलमा पुग्यो।
एपिएफसँग पराजित भएपनि आर्मी पनि सेमिफाइलन पुगेको हो। उ दोस्रो हुँदै सेमिफाइनल पुगेको हो।
बुधबार नै भएको महिलातर्फको दोस्रो खेलमा न्यु डायमण्ड स्पोर्टस क्लबले गण्डकी प्रदेशलाई ३–१ को सेटमा हराएर पहिलो जित हात पारेको छ ।
गण्डकीविरुद्ध डायमण्डले पहिलो सेट १९–२५ ले गुमायो । तर, त्यसपछिको तीनै सेट आफ्नो पक्षमा पार्दै डायमण्डले जित निकाल्न सफल भयो । डायमण्डले दोस्रो सेट २५–१५, तेस्रो सेट २५–१४ र चौथो सेट २५–११ ले जितेको हो।