फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई १-० ले पराजित गरेको छ । लिओनल मेसीविना नै छनोट खेलिरहेको अर्जेन्टिनाले पछिल्लो दुई खेलमा लगातार जित हात पारेको हो ।
यस जितपछि अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा लगातार २९ खेलमा अपराजित छ । सन् २०१९ को कोपा अमेरिकामा ब्राजिलसँग पराजित भएपछि अर्जेन्टिना कुनै खेलमा हारेको छैन ।
यसअघि नै कतारमा हुने विश्वकपको टिकट काटिसकेको अर्जेन्टिनाको जितमा खेलको २९औं मिनेटमा लाउटारो मार्टिनेजले निर्णायक गोल गरे ।
छनोटमा पनि अर्जेन्टिना लगातार १५ खेलमा अपराजित छ । अर्जनेटिना १५ खेलबाट ३५ अंक जोडेर दोस्रो स्थानमा छ । कोलम्बियाले भने पछिल्लो ७ खेलमा कुनै गोल गर्न सकेको छैन । कोलम्बिया १६ खेलबाट १७ अंक जोडेर सातौं स्थानमा छ ।