लियोनल मेसी प्रेरित अर्जेन्टिनाले कतार विश्वकपमा जित निकालेको छ। शनिबार राति लुसेल रंगशालामा भएको खेलमा अर्जेन्टिनाले मेक्सिको माथि २–०को जित निकाल्यो।
यो जितसँगै समूह सीबाट अर्जेन्टिनाको अन्तिम १६ पुग्ने आशा जीवितै भएको छ। अब अन्तिम खेलमा पोल्यान्डविरुद्ध जित निकाल्न सके ऊ अन्तिम १६ पुग्ने छ। बराबरीले पनि उसको सम्भावना कयमै रहन्छ, तर त्यसका लागि अन्य खेलको नतिजा कुर्नुपर्ने हुन्छ।
यता, यो हारासँगै मेक्सिकोका नकआउट पुग्ने सम्भावन कमजोर बनेको छ। उसले अन्तिम खेलमा साउदी अरेबियालाई हराएर मात्र हुँदैन, अन्तिम खेलम अर्जेन्टिनाले निश्चित जित निकाल्नु पर्ने हुन्छ । यस्तै, साउदीले मेक्सिकोसँग अंक जोड्न सके उसको पनि सम्भावना रहन्छ। जितले उ सिधै नकआउट पुग्ने छ भने बाराबरी भए अर्को खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ।
अर्जेन्टिनाको जितमा लियोनल मेसी र एन्जो फर्नान्डेजले गोल गरे। फिजिकल र प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
६४औं मिनेटमा मेसीले डिबक्स बाहिरबाट गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। ८७ औं मिनेटमा एन्जोले उत्कृष्ट गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाए।