समूह चरणको अन्तिको खेलमा एसियन च्याम्पियन कतारलाई पराजित गर्दै अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा अर्जेन्टिनाले कतारलाई २–० ले पराजित गर्दै समूह बीको उपविजेताका रुपमा अन्तिम ८ मा स्थान पक्का गरेको हो ।
समूह बीमा ३ खेलमा ४ अंक जोड्दै अर्जेन्टिना उपविजेता बन्यो । यो समूहबाट शतप्रतिशत नतिजासहित कोलम्बिया ९ अंक जोड्दै समूह विजेता बन्यो । आइनबार राति नै भएको खेलमा कोलम्बियाले पाराग्वेमाथि १–० को जित निकाल्यो ।
क्वार्टरफाइनल पुग्न कतारविरुद्ध जित्नै पर्ने दबाबमा अर्जेन्टिनाको जितमा लौटारो मार्टिनेज र सर्जियो अगुएरोले गोल गरे । तर, जितका बाबजुद पनि अर्जेन्टिनाले उत्कृष्ट खेल भने पस्कन सकने ।
खेलको चौथो मिनेटमै अर्जेन्टिनाले खेलमा अग्रता बनायो । उसका मार्टिनेजले गोल गरेका थिए । त्यसपछि पहिलो हाफमा दुवै टिमबाट कुनै गोल भएन । खेल सकिन ८ मिनेट बाँकी छँदा पाउलो डिबालाको पासमा अगुएरोले गोल गर्दै अर्जेन्टिनालाई अन्तिम ८ को यात्रा तय गराए ।
खेलमा अगुएरोले गोलका थुप्रै असवर खेर फालेका थिए । यता, सुपरस्टार लियोनल मेसी भने खेलमा गोल गर्न असफल भए । उनले खेलमा केही राम्रा पास उपलब्ध गराउनु बाहेक उल्लेख्य खेल पस्कन सकेनन् ।
यता कतारले भने बलियो अर्जेन्टिनाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको थियो । उसले गोल केही राम्रा अवसर सिर्जना गरेपनि फिनिसिङमा चुक्दा गोल भने गर्न सकेन ।
खेलमा अर्जेन्टिनाले ५४ प्रतिशत बल पोजेशन बनाएको थियो । उसले कतारको पोस्टमा १९ सट प्रहार गरेकोमा ९ सट फ्रेममा थियो । यता, कतारले भने ४ सट प्रहार गरेकोमा १ सट मात्र फ्रेममा थियो । खेलमा अर्जेन्टिनाले ५ सय पास खेलेको थियो भने कतारले ४३७ पास खेलेको थियो ।