त्रिभुवन आर्मी फुटबल क्लब र विराटनगर दोस्रो राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको आइतबारको खेलमा विजयी भएका छन् । भरतपुर–१९ शारदानगरमा भइरहेको लिगको दोस्रो खेल खेलेका यी दुवै टिमले पहिलो जित हात पारेका हुन् । आर्मीले ललितपुरलाई ७–० को फराकिलो गोल अन्तरले पराजित गर्यो ।
आर्मीका शर्मिला थापा मगर र रश्मी घिसिङले २–२ तथा विमला चौधरी र कुसुम खतिवडाले एक एक गोल गरे । आर्मीले एक गोल भने ललितपुरका कप्तानबाट आत्मघाती गोलको रुपमा पाएको थियो । पहिलो हाफमा नै आमीले ललितपुरको पोष्टमा ५ गोल गर्यो । आठौं मिनेटमा विमलाले गोल गर्दै दिलाएको अग्रतामा आर्मीले एकपछि अर्को गोल गरेको थियो ।
पहिलो हाफमा ललितपुरले केही अवसर सिर्जना गरे पनि आर्मीको डिन्फेन्स तोड्न सकेन । प्लेयर अफ दि म्याच आर्मीकी शर्मिला भइन् । यो जितसँगै आर्मीले दुई खेलबाट तीन अंक जोडेको छ । आर्मी पहिलो खेलमा सशस्त्र प्रहरी बल ९एपिएफ० फुटबल क्लबसँग पराजित भएको थियो । दुई खेल खेलेको ललितपुरले पहिलो खेलमा चन्द्रपुरलाई पराजित गरेको थियो ।
आइतबारको दोस्रो खेलमा विराटनगरले वालिङलाई ३–१ ले पाखा लगायो । विराटनगरको जितमा भारतीय खेलाडी मिना खातुनले दुई तथा अस्मिता चौधरीले एक गोल गरिन् । वालिङकी सुस्मिता तामाङले एक गोल फर्काइन् । प्लेयर अफ म्याच वालिङकी कप्तान मनमाया दमाई भइन् ।
यो जितपछि विराटनगरले दुई खेलबाट ३ अंक बनाएको छ । विराटनगर पहिलो खेलमा नेपाल पुलिस क्लबसँग पराजित भएको थियो । समान खेल खेलेको वालिङ अंक बिहिन छ । वालिङ पहिलो खेलमा धनगढीसँग पराजित भएको थियो ।
लिगमा सोमबार पनि दुई खेल हुनेछन् । पहिलो खेल धनगढी र ललितपुरबीच हुनेछ । दोस्रो खेलमा दुई पुलिस र एपिएफ भिड्नेछन् ।