नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ । शबिनार कीर्तिपुरस्थित टियू मैदानमा भएको फाइनलमा एपिएफलाई ३३ रनले हराउँदै आर्मीले उपाधि जितेको हो ।
आर्मीलाई जित दिलाउने क्रममा हरि चौहानले ब्याटिङ र जितेन्द्र मुखियाले बलिङमा उत्कृष्ट प्रदर्शन गरे । पहिला ब्याटिङ गर्दै आर्मीले दिएको २१२ रनको लक्ष्य पछ्याएको एपिएफ आर्मीको बलिङ सामू १७८ रनमै धरासायी भयो । उसका लागि आसिफ सेखले ६१ रनको योगदान दिए । उनले ७१ बल खेल्दै ८ चौका र१ छक्का प्रहार गरे । यस्तै, सन्दीप जोराले २९, शंकर रानाले २१ तथा सुमित महर्जनले १९ रन बनाउनुबाहेक अन्यले गतिलो योगदान दिन सकेनन् ।
एपिएफको इनिङ धरासायी बनाउने क्रममा जितेन्द्र मुखिया, विक्रम सोब र साहब आलमले समान तीन विकेट लिए । जितेन्द्रले ९ ओभरमा १ मेडनसहित ३७ रन खर्चिए भने विक्रमले ९ ओभरमा २७ र साहबले ९.३ ओभरमा ३ मेडनसहित २८ खर्चिए । जितेन्द्रले सुवास खकुरेल, आसिफ र कप्तान शरद भेषावकरको विकेट लिँदै आर्मीलाई जित तर्फ अग्रसर गराए ।

यसअघि पहिला ब्याटिङ गरेको आर्मीले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै २१२ रन बनायो । निकै सुस्त ब्याटिङ गरेको आर्मीले अन्तिम १० ओभरमा ७६ रन जोड्दै प्रतिस्पर्धात्मक योगफान बनाउन सफल भयो । उसका लागि हरि चौहानले सर्वाधिक ५८ रन बनाए । उनले १०२ बलमा ६ चौका प्रहार गरे । उसका लागि राजेश पुलामीले २९ बलमा २८ रन बनाए भने साहब आलमले १४ बलमा २५, लोकश बमले ९ बलमा १५ र विक्रम सोबले ९ बलमा ११ रनको महत्वपूर्ण योगदान दिए ।
फाइनलमा आर्मीले ओपनिङमा नयाँ प्रयोग गरेको थियो । उसले स्पिनर सुशन भारीलाई अनिल मण्डलसँगै ओपनिङमा पठाएको थियो । उनले अनिलसँग ३२ रनको साझेदारी गरेका थिए । सुशनले १३ रन बनाउँदा अनिल ७ रनमा आउट भए । यस्तै, रोहित पौडेलले १३ रन बनाउँदा कप्तान विनोद भण्डारी र भीम सार्कीले समान ७ रन बनाए ।

एपिएफका अभिनाश बोहराले १० ओभरमा २ मेडन सहित २५ रन खर्चेर ४ विकेट लिए । किशोर महतोले १० ओभरमा ५३ रन खर्चेर २ विकेट लिए । भुवन कार्की, शरद भेषावकर र कमलसिंह ऐरीले १–१ विकेट लिए ।
योसँगै हार्मीले समूह चरणमा प्राप्त हारको बदला पनि लियो । समूह चरणमा आर्मी एपिएफसँग ६ रनले पराजित भएको थियो । उपाधिसहित आर्मीले १० लाख रुपैयाँ प्राप्त ग¥यो भने एपिएपिएले ५ लाख रुपैयाँ हात प¥यो ।