इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले साँघुरो जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको खेलमा आर्सनलले वाटफोर्डलाई १–० ले हराएको हो।
आर्सनलको जितमा ५६ मिनेटमा स्मिथ रोयले गरेको गोल नै निर्णायक बन्यो। जित पछि आर्सनल ११ खेलमा २० अंक जोडेर अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। समान खेलबाट १० अंक जोडेको वाटफोर्ड १७ औं स्थानमा छ।
आइतबार राति नै भएको अर्को खेलमा टोटनहम बराबरीमा रोकिएको छ। नयाँ प्रशिक्षक एन्टोनियो कोन्टेको पहिलो लिग खेलमा टोटनहमले एभर्टनसँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।
गत बिहिबार मात्र उनले युरोपा लिगमा भिटेसेमाथि ३–२ को प्रतिस्पर्धात्मक जित निकालेका थिए । टोटेनहमले एभर्टनविरुद्ध गोलका लागि संघर्ष गर्नपर्यो । टोटेनहमले एभर्टनविरुद्ध कुनै गतिलो आक्रमण पस्किन सकेन ।
राफेल बेनिटेजको नेतृत्वमा पछिल्लो हप्ता एभर्टनले खेलमा राम्रो सुधार गरेको छ । दोस्रो हाफमा एभर्टनले पेनाल्टीको अवसर पाउने देखिएको थियो । तर रेफ्रीले एभर्टनलाई पेनाल्टीको अवसर भने दिएनन् ।
टोटेनहम १६ अंक सहित तालिकाको नवौं स्थानमा छ । एभर्टन १५ अंक सहित तालिकको ११ औं स्थानमा छ । अर्को खेलमा लेस्टर सिटीले घरेलु टोली लिड्ससँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको छ ।
लिड्सका राफिन्हाले २६ औं मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाएका थिए । त्यसको दुई मिनेटमा बार्नेसले बराबरी गोल फर्काएका थिए ।