आर्सनल नेपालको १२औं वार्षिकोत्सवमा मनाइयो ‘आर्सनल डे’

इंग्लिस प्रिमियर लिगको प्रभावशाली क्लब आर्सनलको आधिकारिक समर्थक समूह ‘आर्सनल नेपाल’ को १२ वर्ष पुरा भएको छ। आर्सनल नेपालले कार्निभल रेस्ट्रो एण्ड मिटिङ्समा ‘आर्सनल नेपाल डे’ कार्यक्रम आयोजना गरी १२औं वार्षिकोत्सव मनाएको छ।

नेपाली राष्ट्रिय टिमका पूर्व खेलाडी तथा नेपाल पुलिस क्लबका डिफेन्डर रविन श्रेष्ठ प्रमुख अतिथि रहेको कार्यक्रममा आर्सनल नेपालका सबै कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो। उपाध्यक्ष निरोज खतिवडाले आर्सनल नेपालका वार्षिक गतिविधिका बारेमा बताउँदै आर्सनलका नेपालमा रहेका समर्थकहरुका लागि ‘१२ वर्षको साथ’ को महत्वमाथि पनि प्रकाश पारेका थिए।

कार्यक्रममा बोल्दै आसर्नल नेपालका अध्यक्ष नवीन चित्रकारले यस वर्षको आधिकारिक सदस्यता कार्यक्रम, वार्षिक रुपमा आयोजना हुने फुटसल प्रतियोगिता तथा सम्बन्ध विस्तारका लागि गरिँदै आएको पोखरा भ्रमणका बारेमा बताए। यस्तै, उनले आर्सनल नेपालको सुदृढ पुरुष फुटबल टिम निर्माण तथा महिला फुटसल टिम विकास गर्ने योजनाका बारेमा पनि विस्तारमा चर्चा गरेका थिए।

आर्सनल नेपालले २६ भदौमा वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय पनि गरेको छ। वार्षिक साधारण सभालाई ‘मेम्बर्स डे’का रुपमा मनाउने निर्णय गरेको आर्सनल नेपालले यस सिजनका लागि आधिकारिक सदस्यता आवेदन केही साता अघि नै खुला गरिसकेको छ। आधिकारिक सदस्यताका लागि आवेदन दिने अन्तिम म्याद भदौ १५ सम्म रहेको उपाध्यक्ष खतिवडाले जानकारी दिए।

यस वर्षको आधिकारिक सदस्यले सदस्य परिचय पत्र, एक्स्क्लुसिभ टिसर्ट र आर्सनल नेपालको पोलो क्याप प्राप्त गर्नेछन्। यसका साथै आर्सनल नेपालले आफ्ना आधिकारिक सदस्यहरुलाई इंग्ल्यान्ड टुरमा लैजाने योजना पनि बनाएको छ। लण्डनस्थित आर्सनल क्लबसँगको सहकार्यमा आधिकारिक सदस्यहरुलाई २०२३–२४ को सिजनका दौरान ‘इंग्ल्यान्ड भ्रमण’मा लाने योजना रहेको छ।

‘आर्सनल डे’का अवसरमा अध्यक्ष नवीन चित्रकारले महिला फुटसल टिमको विकासका लागि पूर्वअध्यक्ष सोभियत तुबाहाम्फेले गरेको सहयोगका लागि धन्यवाद दिएका थिए। पूर्वअध्यक्ष तुम्बाहाम्फेले आर्सनल नेपालको महिला फुटसल टिम ‘गुनरेट् फुटसल टिम’को वृत्तिविकासका लागि १५ हजार आर्थिक सहयोग गरेका थिए।

कार्यक्रममा उपाध्यक्ष निरोज खतिवडाले गत सिजनका फेन्टासी प्रिमियर लिग (एफपीएल) विजेता परिवेश चिलुवाललाई पुरस्कार रकम हस्तान्तरण गरेका थिए। केही वर्ष यता आर्सनल नेपालले हरेक सिजन एफपीएल आयोजना गर्ने गरेको छ। पछिल्लो सिजनका विजेता चिलुवालले १५ हजार पुरस्कार जित्न सफल भए।

आर्सनल नेपाल लण्डनस्थित क्लबबाट मान्यता प्राप्त सपोर्टर्स क्लब हो। १२औं वार्षिकोत्सवका अवसरमा आर्सनल क्लबले पनि आर्सनल नेपाललाई शुभकामना दिएको थियो। आर्सनलले पूर्व खेलाडी तथा आर्सेन वेङ्गरका सहायक प्रशिक्षक प्याट राइस, एमबीईमार्फत् आर्सनल नेपालको १२ वर्ष लामो साथका लागि बधाई तथा धन्यवाद दिएको हो।

प्याट राइसले भर्चुअल माध्यमबाट आर्सनल नेपालका पदाधिकारीहरुसँग अन्तरक्रिया गर्दै शुभकामन आदानप्रदान गरेका थिए। आर्सनल नेपालका कोषाध्यक्ष इन्जल भट्टराईले समन्वय गरेको सो अन्तरक्रिया कार्यक्रम फेसबुकबाट प्रत्यक्ष प्रसारण गरिएको थियो। कार्यक्रममा फुटबल, प्रिमियर लिग र आर्सनलका विविध पक्षमा विमर्श गरिनुका साथै प्याट राइसले आर्सनल नेपालका सदस्यहरुको जिज्ञासाका पनि जवाफ दिएका दिए।

आर्सनल नेपाल नेपालको सबैभन्दा पूरानो समर्थक समूहमध्येमा पर्दछ। आर्सनलले आधिकारिकता प्रदान गरेको आर्सनल नेपाल ९ अगस्ट, २००९ मा स्थापना भएको थियो।