काठमाडौं तेक्वान्दोमा अशोक खड्का निर्विरोध

काठमाडौं जिल्ला तेक्वान्दो संघको अध्यक्षमा अशोक खड्का निर्विरोध निर्वाचित भएक छन् । शनिबार सम्पन्न जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनले तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक खड्कालाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो।

अध्यक्षमा खड्काको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध भएका हुन्। अधिवेशनले खड्कोकाको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्यसमिति समेत निर्विरोध चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा सरोज बाँस्कोटा, सचिवमा गणेश तामाङ र कोषाध्यक्षमा सारदा धिमाल चयन भए । यस्तै, सदस्यमा गौरव रजक, विशाल सुर्खेती, मुना खवास, प्रदीप आले मगर र कविता श्रेष्ठ चयन भए ।

खड्का अघिल्लो कार्यसमितिको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर विजयी भएका थिए । नयाँ खेलकुद ऐन लागू भएपछि अघिल्लो कार्यसमितिका अध्यक्ष प्रमोद पराजुलीले राजिनामा दिएपछि खड्काले १ वर्ष कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हाल्ने अवसर पाएका थिए । नयाँ खेलकुद ऐनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का कर्मचारी खेल संघमा बस्न नपाउने प्रावधान अनुसार पराजुलीले अध्यक्षबाट राजिनामा दिएका थिए ।

नवनिर्वाचित अध्यक्ष खड्काले राम्रो काम गरेर आफ्नो कार्यकाल स्मरण योग्य बनाउन प्रयासरत रहने बताउँदै सबैसँग सहकार्य गर्दै तेक्वान्दोको विकास र विस्तारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले काठमाडौं जिल्लालाई देशकै नमुना जिल्ला तेक्वान्दोका रुपमा स्थापित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए ।

Facebook Comments Box