समाचार

एसिया कपमा श्रीलंकाले बंगलादेशलाई हरायो

तीव्र गतिका बलर मथिशा पाथिराना र मध्यक्रमका ब्याटर चरिथ असलंकाको उत्कृष्ट प्रदर्शनमा घरेलु टोली श्रीलंकाले एसिया कपमा बंगलादेशलाई पाँच विकेटले हराउँदै विजयी सुरुवात गरेको छ।

जितको लागि १६५ रनको विजयी लक्ष्य पछ्याएको श्रीलंकाले ३९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो। श्रीलंकाका लागि चरिथ असलंका ९२ बलमा ५ चौका र १ छक्कासहित ६२ रनमा नटआउट रहे । ओपनर पाथुम निसंका १४, दिमुथ करुणारत्ने १ र कुशल मेन्डिस ५ रनमा आउट भएका थिए ।

बंगलादेशका कप्तान सकिब अल हसनले १० ओभरमा २ मेडनसहित २९ रन खर्चेर २ विकेट लिए भने तस्किन अहमद, मेहदी हसन र शोरिफुल इस्लामले समान एक विकेट लिए।

टस जितेर पहिला ब्याटिङ रोजेको बंगलादेश ४२.४ ओभरमा १६४ रनमा अलआउट भएको थियो। उसका शका नाज्मुल हसन शान्टोले १२२ बलमा ७ चौकासहित सर्वाधिक ८९ रनको योगदान दिए पनि जितको लागि पर्याप्त हुन सकेन।

अन्तिम ६ विकेट ३७ रनमा गुमाएपछि बंगलादेश सस्तैमा समेटियो। एक समय बंगलादेश १२७–४ को अवस्थामा रहेपनि अन्तिम ६ विकेट मात्रै ३७ रनमा गुमाउन पुगेको थियो ।

श्रीलंकाका तीव्र गतिका बलर मथिसा पाथिरानाले ७।४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । महेश थिक्सेना ८ ओभरमा १ मेडनसहित १९ रन खर्चेर २ विकेट लिए । धनन्जय डि सिल्भा, दुनिथ वेलाजिगे र दासुन शानकाले एक–एक विकेट लिए ।

एसिया कप अन्तर्गत समूह ‘ए’ को खेलमा शनिबार भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ।