एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष फुटबलमा आज नेपालको यू–२३ टिमले आफ्नो पहिलो खेलमा जापानसँग प्रतिस्पर्धा गर्दैछ ।
इन्डोनेसियाको सिकाराङस्थित विबावा मुक्ति रंगशालामा आज साँझ पैने ६ बजे हुने खेलमा नेपालले एसियन पावर हाउस जापानको सामना गर्न लागेको हो ।
एसियाडको फुटबलमा नेपाल समूम ‘डी’मा छ । नेपालको समूहमा जापानसँगै भियतनाम र पाकिस्तान छन् ।
थाइल्यान्डमा १० दिनको प्रशिक्षणपछि नेपाली टोेली इन्डोनेसिया गएको थियो । थाइल्यान्डमा नेपालले २ अभ्यास खेल गरेको थियो । दुवै खेलमा नेपाल पराजित भएको थियो ।
थाइल्यान्डमा पहिलो अभ्यास खेलमा पनि नेपाल पुलिस टेरो क्लबसँग १–० ले पराजित भएको थियो भने दोस्रो अभ्यास खेलमा नेपाल नेपाली यू–२३ फुटबल टिम थाइल्यान्डको यू–२३ टिमसँग ४–०को फराकिलो अन्तरले पराजित भएको थियो ।
एसियाडको औपचारिक उद्घाटन शनिबार मात्रै हुनेछ । यद्यपि फुटबलसहितका केही खेलहरू सुरू भइसकेका छन् ।
एसियाली खेलकुदमा यू–२३ टिमले प्रतिस्पर्धा गर्नेछन् । नेपाली फुटबल टिमको नेतृत्व गोलकिपर किरन चेम्जोङले गर्दैछन् । यू–२३ टिममा ३ जना यू–२३ माथिका खेलाडी राख्न पाउने प्रावधान अनुसार नेपाली टिममा गोलकिपर किरण चेमजोङ, रोहित चन्द र भरत खवास एसियाड खेल्ने नेपाली टिममा छन् ।
नेपाल र जापान यसअघि तीन पटक एसियाडमा भिडेका छन् । तीनै खेल जापानले आफ्नो पक्षमा परेको थियो । दक्षिण कोरियामा भएको सन् १०८६ को एसियाडमा नेपाल र जापान पहिलो पटक भिडेका थिए । उक्त खेलमा नेपाल जापानसँग ५–० ले पराजित भएको थियो ।
त्यस्तै सन् १९९२ मा थाइल्याण्डमा भएको एसियाडमा पनि नेपाललाई जापानले ५–० ले नै पराजित गरेको थियो भने सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाडमा पनि जापानले नेपाललाइृ सजिलै पाखा लगाएको थियो । उक्त खेलमा नेपाल ४–०ले पराजित भएको थियो ।
एसियन गेम्सको समूह डीमा रहेको नेपालले दोस्रो खेलमा भियतनाम र अन्तिम खेलमा पाकिस्तानसँग खेल्नेछ।