राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले एसियाली खेलकुदको तयारीका सम्बन्ध विभिन्न खेलका मुख्य प्रशिक्षकसँग शनिबार छलफल गरेका छन्।
चीनको होङझावमा हुने असोज ६ गतेदेखि सुरु हुने १९औं एसियाली खेलकुदमा नेपालले सहभागिता जनाउने खेलका मुख्य प्रशिक्षकहरुसँग छलफल गरेका हुन्।
छलफलमा तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, खेलकुद विकास विभागका प्रमुख प्रेमबहादुर मल्ल, राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, आर्थिक प्रशासन शाखाका प्रमुख पासाङ फिन्जी शेर्पालगायतको उपस्थिति रहेको थियो।
उक्त अवसरमा खेलाडीको छनोट र तालिम, खेलाडीको स्तरीय प्रशिक्षणका लागि आगामी योजना, खेलाडीले तालिम गर्ने स्थलको अवस्था, खेल सामाग्रीलगायतका विषयमा छलफल भएको थियो।
सदस्य–सचिव घिसिङले खेलाडीको प्रशिक्षणमा विशेष ध्यान दिएर नेपालको सहभागीलाई उपलब्धीमुलक बनाउन प्रतिबद्ध भएर अगाडि बढ्नु पर्नेमा जोड दिए।