°
, June 7, 2023 in

विश्वकपमा एसियन टिमको दबदबाः पछार्दै छन् एकपछि अर्को दाबेदार

SHARE:

विश्वकपको नाममा मात्र ‘विश्व’ छ, प्रतियोगितामा दबदबा भने सधैं युरोप र दक्षिण अमेरिकाका देशको रहँदै आएको छ । आजसम्म यी दुई महादेश बाहिरका देशहरुले विश्वकपको उपाधी जित्न पनि सकेका छैनन् ।

कतारमा जारी विश्वकप २०२२ प्रतियोगिताको २२औं संस्करण हो । यसअघि भएका २१ संस्करणमध्ये ९ पटक दक्षिण अमेरिकी देशले र १२ पटक युरोपेली देशहरुले जितेका छन् । जसमध्ये ब्राजिल ५ पटक, अर्जेन्टिना र उरुग्वे समान २ पटक विश्व च्याम्पियन भएका छन् भने जर्मनी र इटालीले समान ४ पटक, फ्रान्सले २ पटक र इंग्ल्यान्ड तथा स्पेनले समान १ पटक विश्वकपको उपाधी उचालेका छन् ।

दुई महादेशका देशहरुले पालैपालो विश्वकप जितिरहँदा एसियाका देशहरु भने सहभागितामै खुशी हुने र नकआउट प्रवेशलाई ऐतिहासिक उपलब्धि मान्दै चित्त बुझाउन वाध्य छन् । विश्वकप तबमात्र ‘विश्व’कप हुनेथियो जब विश्वका सबै महादेशहरु बराबर स्तरमा रहेर एकअर्कासँग प्रतिस्पर्धा गर्न र चुनौती दिन सक्ने हुन्छन् ।

फुटबलमा गरिने लगानी, फिफाले दिने महत्व र अवसर, खेलाडीले पाउने एक्स्पोजर, घरेलु लिग र व्यावसायीक फुटबलको कल्चरलगायत धेरै कुराले त्यो ‘स्तर’मा प्रभाव पारेको होला । तर यी, यस्ता र यसका थप कारणहरु खोतल्नतिर लाग्यो भने त्यो बहसको बेग्लै विषय बन्नेछ, फिफामाथि चोरी औंलो उठ्नेछ । अहिले त्यतातिर नलागौं ।

एसियन टिमको फुटबल खेल्ने स्तर मिल्दैनः फिफा

फिफाले विश्वकपमा सबैभन्दा ठूलो महादेश एसियालाई ४ वटा मात्र कोटा दिएको छ । विश्वकप २०२२ का लागि एसियाबाट दक्षिण कोरिया, जापान, इरान र साउदी अरेबिया छनोट भएका थिए भने आयोजक राष्ट्रको हैसियतमा कतारसहित ५ देशले सहभागीता जनाएका थिए ।

फिफालाई एसियाबाट छनोट हुने देशको संख्या बढाउन आग्रह गर्दा सधैं ‘एसियाली देशहरु फुटबलमा कमजोर छन्, युरोप र अमेरिकाका देशहरुले गोलको वर्षा गरेर खेल एकपक्षीय बनाउँछन्, विश्वकप प्रतिस्पर्धात्मक हुँदैन, प्रतियोगिताको रौनक हराउँछ’ भनेर टार्दै आएको छ ।

तर, यसपटक एसियन टिमहरुले विश्वकपमा गरेको प्रदर्शन र निकालेको नतिजाले फिफाको भेदभावपूर्ण व्यवहारमा गतिलो झापडमात्र हानेको छैन, एसियन फुटबललाई विश्वले हेर्ने नजरमा समेत थोरबहुत परिवर्तन ल्याउन सफल भएको छ ।

आयोजक कतार बाहेक छनोट खेलेर आएका सबै देशले विश्वकपका दाबेदार र विश्व फुटबलका हेभिवेट टिमविरुद्ध ‘अप्रत्यासित’ नतिजा निकाल्न सफल भएका छन् । र, ति खेल हेर्ने सबै फुटबलप्रेमीहरुलाई थाहा छ कुनैपनि नतिजा ‘लक लागेर’ वा ‘काकतालि परेर’ आएका होइनन् । सबै एसियन टिमहरुले उत्कृष्ट फुटबल खेलेर जित हात पार्न सफल भएका हुन् ।

विश्वकपमा एसियन टिमको दबदबा

सुरुमा कुरा गरौं ‘बिगेस्ट अपसेट अफ द वर्ल्डकप’ भनिँदै आएको साउदी अरेबिया र अर्जेन्टिनाबीचको खेलको । फुटबलले आफ्नो इतिहासमा पाएका सर्वोत्कृष्ट खेलाडीमध्येका एक लियोनल मेसीसहितको अर्जेन्टिना विश्वकप जित्न कतार आएको हो । तुलनात्मक रुपमा सजिलो ग्रुप ‘सी’मा परेको अर्जेन्टिनाले ३ वटै खेल जित्दै नकआउट प्रवेश गर्ने सबैको आँकलन थियो । पोल्यान्ड र मेक्सिकोले केही चुनौती दिएपनि कमसेकम एसियन टिम साउदी अरेबियालाई भने सहजै पराजित गर्छ भन्ने सबैको अनुमान थियो ।

तर, फुटबलको सुन्दरता नै अप्रत्यासित नतिजामा छ । लियोनल मेसीले १०औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएर जिततर्फ अग्रसर गराए, तर साउदी अरेबियाले हार मानेन । बल पोजेसनमा अर्जेन्टिनालाई चक्मा दिन नसकेपनि काउन्टरमार्फत् प्रयास जारी राख्यो । फलस्वरुपः सायदीले दोस्रो हाफमा दुई गोल फर्कायो । विश्वकपमा अर्जेन्टिनाको पहिलो गाँसमै ढुंगा भयो ।

यससँगै साउदी विश्वकपको इतिहासमा अर्जेन्टिनालाई पराजित गर्ने पहिलो एसियन देश पनि बन्न सफल भयो । अर्जेन्टिना युरोप बाहिरका देशसँग विश्वकपमा पराजित भएको यो केबल दोस्रोपटक थियो । यसअघि क्यामरुनले सन् १९९० को विश्वकपमा अर्जेन्टिनालाई स्तब्ध बनाएको थियो ।

साउदी अरेबियाले झुक्किएर भने अर्जेन्टिनालाई पराजित गरेको थिएन । साउदीका गोलकिप्पर र डिफेन्डरहरुले ज्यान दिएर खेलेका थिए । ७० प्रतिशत बल पोजेसन राख्दा पनि अर्जेन्टिनाले खेलभर जम्मा १५ सट प्रहार गरेको थियो ।

साउदीका खेलाडीले पनि अर्जेन्टिनाका खेलाडीजस्तै अवसर र एक्स्पोजर पाएका भए सायद बल पोजेसन राम्रै राख्न सक्थे होलान्, मिडफिल्डमा प्रशस्त बल खेलाउँथे होलान् ।

मेसीपछि फुटबलका अर्का लेजेन्ड हुन्, क्रिस्टियानो रोनाल्डो । दुईजनामा को सर्वश्रेष्ठ भनेर विश्व फुटबल दुई ध्रुवमा बाँडिएको दशकभन्दा बढी भइसक्यो । यस्ता धुरन्धर खेलाडी रहेको ग्रुपमा थिए एसियाका देशहरु । पोर्चुगलको ग्रुपमा परेको थियो, दक्षिण कोरिया ।

कतार विश्वकप जित्ने क्षमता र लक्ष्य दुवै भएको टिम हो पोर्चुगल । र, तुनात्मक रुपमा दक्षिण कोरिया एसियन टिममध्ये सशक्त टिम हो । कोरियाका कप्तान ह्युङ मिङ सङ प्रिमियर लिगको ‘बिग सिक्स’मध्येमा पर्ने टोटनह्यामका मुख्य खेलाडी हुन् भने अन्य खेलाडीहरु पनि युरोपका विभिन्न लिगमा खेल्दै आएका छन् ।

यस्तोमा कोरियाले पोर्चुगललाई चुनौती दिनेछ भन्ने सबैको अनुमान थियो, तर उत्कृष्ट प्रदर्शन गर्दै जित हात पार्छ भन्ने कसैले सोचेको थिएन । अपेक्षा भने धेरैको थियो होला, सायद ।

दक्षिण कोरिया बल पोजेसनमा पछाडि परेपनि अन्य कुनै मानेमा कमजोर थिएन । पोर्चुगलले ६२ प्रतिशत बल पोजेसन राख्दै १३ सट प्रहार गरेको थियो जसमध्ये ६ सट टार्गेटमा गए र एउटा सट गोलमा परिणत भयो । दक्षिण कोरियाले भने जम्मा ३८ प्रतिशत बल पोजेसनबाट नै समान १३ सट प्रहार गर्‍यो जसमध्ये ६ सट नै टार्गेटमा गए र दुई गोल गर्न सफल भयो ।

तथ्यांकमा मात्र होइन, मैदानमा पनि दक्षिण कोरियाको खेल प्रभावशाली थियो । दाबेदार पोर्चुगल, पूर्वविजेता उरुग्वे र अफ्रिकाको बलियो टिम घानासहितको ग्रुप ‘एच’मा रहेको दक्षिण कोरिया उपविजेता बन्दै नकआउट प्रवेश गर्न सफल भयो ।

विश्वकपमा सबैभन्दा सनसनीपूर्ण प्रदर्शन रह्यो जापानको । कतार विश्वकपको ‘ग्रुप अफ डेथ’ मानिएको ग्रुप ‘ई’मा परेको थियो जापान । कोस्टारिकासहित पूर्व विश्वकप विजेता तथा जारी विश्वकपका दाबेदार स्पेन र जर्मनी भएको यो ग्रुपबाट नकआउट को पुग्ला भनेर जसलाई सोधेपनि उत्तर एउटै आउनेछ, स्पेन र जर्मनी ।

तर, विश्वफुटबलका हेभिवेट र विश्वकपका दाबेदार रहेको ग्रुपबाट जापान नकआउटमा मात्र पुगेन समुह विजेता नै बन्न सफल भयो । ठूला भनिएका दुवै देश स्पेन र जर्मनीलाई धुलो चटाउँदै जापानले ग्रुप लिडरको हैसियतमा अन्तिम १६ मा प्रवेश गर्दा विश्वफुटबलका कति पण्डित भनाउँदाहरुको धोती फुस्केको थियो भने कतिले विश्वास गर्न सकिरहेका थिएनन् ।

सारा सामाजिक सञ्जालभरि जापानको बहादुरीपूर्ण र चामात्कारिक प्रदर्शनको तारिफ भइरहेको थियो । सधैं विश्वकपको समय मैदान र ड्रेसिङ रुम सफा गरेको समाचारमा मात्र जापान हेडलाइन बन्थ्यो । यसपल्ट पनि त्यस्तो नभएको होइन, जापानी खेलाडी र समर्थक सरसफाई गरेर धेरैपटक हेडलाइनमा छाए । त्यसका साथै उनीहरुले विश्वकपको ‘जाइन्ट किलर’को उपाधि सहित पनि हेडलाइनमा स्थान पाए । धेरै फुटबलप्रेमीको मनमा पनि ।

जापानमा पनि केहि उत्कृष्ट खेलाडीहरु छन्, जसले युरोपियन लिगमा व्यावसायी फुटबल खेल्छन् । डिफेन्डर ताकेहिरो तोमियासु प्रिमियर लिगको लिग लिडर आर्सनलका मुख्य खेलाडी हुन् भने युवा खेलाडी कुबो कुनैबेला रियल मड्रिडबाट खेल्नेगर्थे ।

नकआउट पुग्न सफल अर्को एसियन टिम हो, अस्ट्रेलिया । अस्ट्रेलियाले युरोपको बलियो टिम डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान पक्का गरेको थियो । अस्ट्रेलियाले फुटबल एसियाबाट खेलेपनि फरक महादेश, परिवेश र फुटबलिङ कल्चर भएको देश हो । तथापि, विश्वकपमा एसियाकै प्रतिनिधित्व गर्ने भएकाले उसको उपलब्धि सह्रानीय छ ।

यस्तै, इरानले पनि वेल्सलाई पराजित गर्‍यो । युरोपका ठूला लिग, विशेषगरी प्रिमियर लिगको अनुभव बोकेका खेलाडीले भरिभराउ वेल्स नकआउट पुग्नेमा ढुक्क थियो । ग्यारेथ बेल, बेन डेभिज, आरोज राम्जी, नेको विलियम्सलगायत युरोपियन फुटबलका होनहार खेलाडी भएको वेल्स इरानसँग पराजित होला भनेर कसले सोच्न सक्ला ।

कमजोर छैनन् एसियन टिम

तर, कम एक्स्पोजर, कमजोर ट्रेनिङ, न्यून लगानी, फिफाको बेवास्तालगायत अनगिन्ती प्रतिकुलतका बावजुद एसियन टिमहरुले आफुलाई साबित गरेर देखाएका छन् ।

दक्षिण कोरियाले ब्राजिलसँग र जापानले क्रोएसियासँग क्वार्टरफाइनल प्रवेशका लागि भिडन्त गर्दैछन् । नतिजा जस्तो आएपनि समूह चरणमा निकालेको नतिजाकै आधारमा उनीहरुले फिफालाई जवाफ दिइसकेका छन् भने पर्याप्त अवसर र एक्स्पोजर पाए कसैले कम आँक्न सक्दैन भनेर आफुलाई साबित गरिसकेका छन् ।

अर्जेन्टिनालाई पराजित गरेपछि साउदीले एकदिन सार्वजनिक विदाको घोषणा गर्‍यो । एउटै प्रतियोगितामा आआफ्नो महादेशबाट फिफाको एउटै नियमानुसार छनोट चरण पार गर्दै सहभागी भएका दुई देशबीचको फरक यसैले देखाउँछ । हार र जित खेलका स्वभाविक नतिजा हुन् भने जित्नेले खुशी हुनु र हार्ने दुःखी हुनु साधारण नियती ।

तर, कुनै प्रतियोगितामा एउटा जित निकाल्दा राष्ट्रिय उत्सवका रुपमा हर्सौल्लाससहित मनाउँदै सार्वजनिक विदा दिुन भनेको दुःखद् कुरा हो । र, यसको मुख्य कारण हो, असमान स्तर ।

फिफाले भनेजस्तो वास्तवमा एसियन देशहरु अरुको तुलनामा पक्कै कमजोर होलान् । तर त्यो कमजोरी हौसला र क्षमताको होइन, प्राविधिक स्तरको हो । र, त्यो असमानता हटाउने जिम्मा पनि फिफाकै हो । कमजोर छन् भनेर अवसर र पूर्वाधारबाट बञ्चित गरिरह्यो भने एसिया सधैं कमजोर नै रहनेछ ।

खैर, फिफाले उपेक्षा गरेपनि एसियन टिमको प्रदर्शनलाई त्यसले प्रभाव पारेन । ‘दाबेदार हुँ’ भन्ने हेभिवेट टिमहरुलाई एकपछि अर्को गर्दै पछारिरहे । विश्वकपमा यसपटक एसियन टिमको दबदबाले धेरै कुरा परिवर्तन गर्ने संकेत गरेको छ । मुख्यतः विश्वले एसियन फुटबललाई हेर्ने नजरिया परिवर्तन होस् भन्ने आशा गरौं ।

SHARE: