ब्राजिलियन स्टार विंगर फिलिपे काउटिन्हो प्रिमियर लिग फर्किएका छन् । सन् २०१८मा लिभरपुल छाड्दै स्पेनिस क्लब बार्सिलोना पुगेका काउटिन्हो ४ वर्षपछि प्रिमियर लिग फर्किएका हुन्।
लिभरपुलमा ६ सिजन बिताएका २९ वर्षीय विंगर काउटिन्हो यो पटक एस्टन भिल्लामा आबद्ध भएका छन् । भिल्लाले उनलाई सिजनको अन्त्यसम्मका लागि लोनमा अनुबन्धन गरेको हो।
काउटिन्होले ४८ घण्टाभित्र मेडिकल, वर्क पर्मिटलगायत प्रक्रिया पुरा गर्ने बताइएको छ। त्यसका लागि उनी केही समयमै बर्मिङ्घम आउने छ।
भिल्लामा काउटिन्होले आफ्नै पूर्वसहकर्मी स्टेफन जेरार्डको प्रशिक्षणमा खेल्ने छन्। यी दुईले लिभरपुलमासँगै खेलेका थिए । ‘बार्सिलोनामा नचले पनि उनको क्षमता के हो मलाई राम्रोसँग थाहा छ, उनी पुनः लयमा आउने विश्वास छ। उनले लिभरपुलमा आफूलाई प्रमाणित गरिसकेका छन्। काटिन्होको आगमनले टिम थप बलियो भएको छ,’ जेरार्डमा आफ्ना पूर्वसहकमीृका बारे भने।
कीर्तिमानी १४६ मिलियन पाउण्डमा बार्सिलोना पुगेका काउटिन्हो त्यहाँ भने आफ्नो प्रभाव जमान असफल भएका थिए । बार्सिलोनामा उनले १०६ खेल खेल्दै २६ गोल मात्र गरेका थियो । बार्सिलोनामै रहँदा उनले एक सिजन लोनमा बायर्न म्युनिखबाट पनि खेलेका थिए ।
लिभरपुलमा ६ सिजन बिताउँदा उनले २२१ खेलमा ५४ गोल गरेका थिए । त्यसअघि उनले इन्टर मिलान र इस्पानियोलबाट पनि खेलेका थिए । उनले ब्राजिलका लागि ६३ खेल खेल्दै १८ गोल गरेका छन्।