च्याम्पियन्स लिग अन्तर्गत गए राति भएको रोमाञ्चक खेलमा इंग्लिस क्लब लिभरपुल विजयी भएको छ। मोहम्मद सलाहले उत्कृष्ट प्रदर्शन गरेपछि लिभरपुलले एट्लेटिको मड्रिडलाई उसकै मैदानमा ३–२को रोमाञ्चक जित निकाल्यो।
लिभरपुलको जितमा मोहम्मद सलाहले दुई तथा नावी केइटाले एक गोल गरे। एट्लेटिकोका लागि दुवै गोल एन्टोनी ग्रिजमनले गरेका थिए। वान्डा मेट्रोपोलिटानोमा मंगलबार राति भएको खेलमा आठौं मिनेटमै सलाहको गोलबाट लिभरपुलले अग्रता लिएको थियो। खेलको १३औं मिनेटमा नावी केइटाले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
त्यसपछि २०औं मिनेटमा एन्टोइन ग्रिजमनले कोकेको पासमा गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए। ३४औं मिनेटमा ग्रिजमनले जोआओ फेलिक्सको पासमा व्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याउँदै एट्लेटिकोलाई खेलमा फर्काए।
बराबरी गोल गरेका ग्रिजमनले दोस्रो हाफमा रेड कार्ड पाएपछि घरेलु टोली समस्यामा परेको थियो । ५२औं मिनेटमा बल खोस्ने क्रममा रोबर्टो फिर्मिनोलाई खुट्टाले टाउकोमा प्रहार गरेपछि रेफ्रीले रातो कार्ड दिएका थिए।
त्यसको फाइदा उठाउँदै ७८औं मिनेटमा मोहम्मद सलाहले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै लिभरपुललाई ३–२ को रोमाञ्चक जित दिलाए।
यसैगरी समूह बीकै अर्को खेलमा पोर्चुगिज क्लब एफसी पोर्टोले इटालियन क्लब एसी मिलानलाई १–०ले हराएको छ। पोर्टोको जितमा दोस्रो हाफमा लुइस डियासले गरेको गोल नै निर्णायक बन्यो ।
जितपछि अपराजित रहेको लिभरपुल ३ खेलबाट ९ अंक जोडेर शीर्ष स्थानमा छ । समूहमा पहिलो हार बेहोरेको एट्लेटिको ४ अंक जोडेर दोस्रो स्थानमा रहँदा ४ अंक नै जोडेको पोर्टो तेस्रो स्थानमा छ। लगातार तेस्रो हार बेहोरेको मिलान अंकविहीन हुँदै पुछारमा छ।