कोरोना भाइरसको महामारीपछिको पहिलो खेलमा एट्लेटिको मड्रिड बराबरीमा रोकिएको छ । आइतबार साँझ भएको खेलमा एट्लेटिको एथ्लेटिको बिल्बाओसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
खेलमा बिल्बाओका इकर मुनियनले गोल गरेका थिए भने एट्लेटिकोका डिएगो कोस्टाले गोल फर्काए । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो ।
खेलको ३७औं मिनेटमा मुनियनले युरी बेन्चिचेको क्रसमा डिबक्स भित्रबाट वान टचमा उत्कृष्ट गोल गदैए बिल्बाओलाई घरेलु मैदानमा अग्रता दिलाए । १ गोलले पछि परेको २ मिनेट बित्न नपाउँदै एट्लेटिकोले खेललाई बराबरीमा ल्यायो । सेन्टर नजिकबाट कप्तान कोकेले उपलब्ध गराएको पासलाई कोस्टाले खेर जान दिएनन्, ३९औं मिनेटमा गोल गरे ।
खेलमा दुवै टिमले पोस्टमा निरन्तर आक्रमण गरेपनि थप गोल भने हुन सकेन । दुवै टिमका किपरले केही उत्कृष्ट बचाउ गरेका थिए । खेलमा बिल्बाओले घरेलु मैदानमा ५४ प्रतिशत बल पोजेसन बनाउँदै एट्लेटिकोको पोस्टमा ९ सट प्रहार गरेको थियो, जसमा ४ सट फ्रेममा थियो । यता, एट्लेटिकोले भने ९ सट नै प्रहार गर्दा २ सट मात्र फ्रेममा थियो ।
बराबरीपछि ४६ अंक जोडेको एट्लेटिको मड्रिड छैठौं स्थनमा छ । चौथो स्थनको रियल सोसिडाड, पाचौं स्थानको गेटाफसँग समान अंक भएपनि एट्लेटिको गोलअन्तरमा पछि परेको हो । बिल्बाओ भने ३८ आंकका साथ १०औं स्थानमा छ ।