क्रिकेटमा भारत भर्सेस पाकिस्तानपछिको सबैभन्दा ठूलो भिडन्त हो अष्ट्रेलिया भर्सेस इंग्ल्यान्ड । इंग्ल्यान्डमा जारी विश्वकप २०१९ को समूह चरणमा यो भिडन्तको नतिजाले आयोजकको विश्वकप यात्राको टुंगो लगाउने छ । अझ आसन्न एसेज सिरिजको पूर्वसन्ध्यामा भएको यो खेलको बहुआयामिक महत्व छ ।
अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८५ रन जोडेको छ । टस जितेर फिल्डीङ रोजेको इंग्ल्यान्डलाई अष्ट्रेलियाका ओपनरद्वय डेभिड वार्नर र आरोन फिन्चले आफ्नो निर्णयप्रति पश्चाताप गर्नुपर्ने अवस्थामा पु¥याएका थिए । ६१ बलमा ५३ रन जोडेका वार्नरले अर्धशतकिय इनिङ खेल्दै प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी बने ।
यस्तै, शतक बनाएका आरोन फिन्चले ११६ बलमा १०० रन बनाउँदै दोस्रो हाइस्कोरर बनेका थिए । उत्कृष्ट ओपनिङ गरेपनि मध्यक्रमका ब्याट्सम्यान सम्हालिन नसकेपछि उच्चस्कोर बनाउने सम्भावना देखाएको इनिङ धराशायी भएर मध्यम स्कोरमा खुम्चिएको थियो ।
स्टिभ स्मिथले ३४ बलमा ३८ रन तथा उसमान खवाजाले २९ बलमा २३ रन बनाएर इनिङ सम्हाल्ने कोसिस गरेपनि इंग्ल्यान्डका बलरले अष्ट्रेलियाका ब्याट्सम्यानलाई खुलेर खेल्ने मौका नै दिएनन् ।
ग्लेन म्याक्सवेलले लगातार १ चौका र १ छक्का प्रहार गर्दै राम्रो लक्षण देखाएपनि ८ बलमा १२ रनमात्र जोडेर आउट भएपछि अष्ट्रेलिया थप दबाबमा आएको थियो । अलराउन्डर मार्कस स्टोइनिस पनि १५ बलमा केबल ८ रन जोड्दै रनआउट हुँदै पभेलियन फर्किएका थिए ।
अष्ट्रेलियालाई सम्मानजनक स्कोरसम्म लैजाने क्रममा एलेक्स केरिले २७ बलमा नटआउट ३८ रन जोडेका थिए । प्याट कमिन्स ४ बलमा १ रन बनाएर आउट भएका थिए भने मिचेल स्टार्कले ६ बलमा नटआउट ४ रन जोडेर विकेट बचाए ।
अष्ट्रेलियालाई मध्यम योगफलमा सिमित गर्न इंग्ल्यान्डका सबै बलरले इकोनोमिक स्पेल बलिङ गरे । १० ओभर बलिङ गरेका क्रिस ओक्सले ४६ रन दिँदै २ विकेट लिएका थिए । यस्तै, जोफ्रा आर्चर, मार्क उड, बेन स्टोक्स र मोइन अलिले समान १–१ विकेट लिएका थिए ।
फर्ममा रहेका ब्याट्सम्यान जेसन रोयलाई चोटका कारण गुमाएको इंग्ल्यान्डलाई अष्ट्रेलियाविरुद्ध २८६ रनको लक्ष्य भेट्टाउन सोचेजति सहज भने हुने छैन । विश्वकपमा आजसम्म अष्ट्रेलियालाई पराजित गर्न नसकेको इंग्ल्यान्डलाई आज इतिहास रच्ने मौका भने पक्कै पनि छ । इंग्ल्यान्डले विश्वकपमा यसअघि ३ पटक अष्ट्रेलियाको सामाना गर्दा ३ वटै खेलमा पराजित भएको थियो ।
इंग्ल्यान्डलाई विश्वकपको रेकर्डले निरुत्साहित गरेपनि विश्वकप बाहेकका दुईबिचका पछिल्ला एकदिवसीय भिडन्तको नतिजाले भने ठूलो आत्मविश्वास प्रदान गनेए छ । इंग्ल्यान्ड र अष्ट्रेलियाबिच भएका पछिल्ला ६ एकदिवसीय खेल सबैमा इंग्ल्यान्डले जित हात पारेको छ ।
यो खेलमा जित निकाले इंग्ल्यान्डलाई आसन्न एसेज सिरिजमा पनि अष्टे«लियाको सामना गर्न निकै आवश्यक र महत्वपूर्ण मानसिक टेवा मिल्ने छ ।