
घाइते हुँदै अस्ट्रेलियन ओपनबाट बाहिरिए नाडाल
डिफेन्डिङ च्याम्पियन राफेल नडालले बुधबार अस्ट्रेलिया ओपनबाट बाहिरिएका छन् । यसलाई प्रतियोगिताकै सबैभन्दा ठूलो अप्रत्यासित नतिजामध्ये एक मानिएको छ । दुई उदीयमान खेलाडीको भिडन्तमा कोको गौफले पनि इम्मा राडुकानुलाई हराएका छन् । चोटका कारण प्रतियोगिताबा बाहिरिएपछि नडालकी पत्नी मेरीले पनि आँसु लुकाउन सकिनन् ।
स्पेनी खेलाडी नडाल रोड लेभर एरेनामा भएको खेलमा ६५ औं वरीयताका अमेरिकी म्याकेन्जी म्याकडोनाल्डसँग पराजित भएका छन् । वर्षाका कारण बन्द छानाबीच खेल भएको थियो । त्यसमा ३६ वर्षीय नडाल अमेरिकी खेलाडीसँग ६–४, ६–४, ७–५ ले पराजित रहे । खेलका क्रममा संघर्षरत नडालका लागि ‘मेडिकल टाइमआउट’ समेत आवश्यक परेको थियो ।
नडाल सात वर्षयता टेनिसको ठूलो प्रतियोगिता ग्रान्ड स्लाममा दोस्रो चरणमै बाहिरिएको यो पहिलोपल्ट हो । चोटकै कारण उनले कीर्तिमान २२ औं ग्रान्ड स्लाम जित्ने अभियानमा पनि धक्का लागेको छ । यस्तोमा अब सर्बियाका नोभाक जोकोभिच वर्षको पहिलो ग्रान्ड स्लाम उपाधिका लागि बलियो दाबेदार देखिएका छन् ।
खेलपछि नडालले भने, ‘म अहिले कुनै प्रकारको गुनासो गर्ने ठाउँमा छैन । टेनिस खेल जीवनले मलाई धेरै खुसीका उपलब्धि दिएका छन् । त्यसैले मसँग गुनासो गर्ने अधिकार पनि छैन । तर, म अहिले निकै थाकेको छु, निरास छु र दुःखी पनि छु । यो नै वास्तविकता हो । म टेनिस खेल्ने क्रमलाई जारी राख्न चाहन्छु । अहिले तत्काल मेरो स्थिति ठीक छैन ।’
अब २७ वर्षीय म्याकडोनाल्डले तेस्रो चरणमा जापानका योसिमितो निसिकोको सामना गर्नेछन् ।