को बन्ला टि–२० विश्वकपको नयाँ च्याम्पियन, अस्ट्रेलिया या न्युजिल्यान्ड?

आइतबार दुबइृमा हुने फाइनलपछि आईसिसी टि–२० विश्वकपले नयाँ विजेता पाउँदैछ। टि–२० विश्वकपको नयाँ विजेता हुने छन्, अस्ट्रेलिया या न्युजिल्यान्ड । दोस्रो पटक फाइनल पुगेको अस्ट्रेलिया र पहिलो पटक फाइनल खेल्न लागेको न्युजिल्यान्डबीचको खेल दुबईमा आइतबार राति ७ः४५ बजे हुने छ।

आइतबार हुने खेलले सन् २०१५ को एकदिवसीय विश्वकप फाइनल पनि सम्झाउने छ । त्यतिबेला अस्ट्रेलियाले ७ विकेटले खेल जितेर पाँचौंपल्ट विश्वकप उपाधिमा कब्जा जमाएको थियो । आरोन फिन्च नेतृत्वको अस्ट्रेलियाले सेमिफाइनलमा उपाधिको प्रमुख दाबेदार पाकिस्तानलाई ५ विकेटले हराएको थियो भने न्युजिल्यान्डले पनि इंग्ल्यान्डलाई ५ विकेटले नै हराएको थियो।

आईसीसी टि–२० विश्वकप फाइनलमा आइतबार अस्ट्रेलियाको सामना गर्न लागेका केन विलियम्सन नेतृत्वको न्युजिल्यान्डले एकै वर्ष दोस्रोपल्ट विश्वव्यापी प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिनेछ । दुवै टोलीले अहिलेसम्म टि–२० विश्वकप जितेका छैनन् । दुवै टोली क्रिकेटको सबैभन्दा छोटो फर्म्याटको विश्वकप उपाधि पहिलोपल्ट जित्ने अभियानको नजिक छन् ।

जुनमा भारतलाई हराउँदै विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको न्युजिल्यान्ड लगातार तेस्रोपल्ट आईसीसी प्रतियोगिताको फाइनल खेल्दै छ । सेमिफाइनलमा न्युजिल्यान्डले उपाधिको प्रमुख दाबेदार मानिएको इंग्ल्यान्डलाई हराएर सन् २०१९ को एकदिवसीय विश्वकप फाइनलमा बेहोरेको हारको बदला लिएको थियो ।

पहिलोपल्ट टि–२० विश्वकपको फाइनल खेल्न लागेको न्युजिल्यान्डका प्रशिक्षक ग्यारी स्टेडले आफ्नो टोली अस्ट्रेलियाली चुनौती सामना गर्न उत्साहित रहेको बताएका छन् । फाइनलअघि चोटको समस्याले न्युजिल्यान्ड पिरोलिएको छ । विकेटकिपर डेभोन कोन्वे हात भाँचिएपछि टिमबाट बाहिर छन् । सेमिफाइनलमा आउट भएपछि हातले आफ्नै ब्याटमा हानेर निराशा प्रदर्शन गरेका उनको हात त्यही कारणले भाँच्चिएको हो ।

फाइनल खेलमा न्युजिल्यान्डका लागि मार्टिन गप्टिल, डार्यल मिचेल, कप्तान केन विलियम्सन, ट्रेन्ट बोल्ट, इश सोधीको खेल महत्वपूर्ण हुनेछन्। अस्ट्रेलियाका लागि ब्याट्सम्यान डेविड वार्नर, मार्कस स्टोइनिस तथा बलर एडम जाम्पाको भूमिका महत्त्वपूर्ण हुने देखिन्छ।