दिल्लीसँगको हारले मुम्बईकाे प्लेअफ यात्रा कठीन

डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डियन्स १४औं संस्करणको आइपिएलको लिगबाटै बाहिरिने खतरा बढेको छ। कोरोनाका कारण रोकिए र युएईमा पुनः सुरु भएको आईपिएलमा निरन्तर खराब प्रदर्शन गरेको मुम्बई शनिबार भएको खेलमा दिल्ली क्यापिटल्समासँग पराजित भएपछि उसको प्लेअफ यात्रा कठीन बनेको हो।

मुम्बईले युएईमा खेलिएका ५ खेलमा १ जित मात्र निकालेको छ । १२ खेलमा १० अंक मात्र जोडेको मुम्बई छैठौं स्थानमा छ । बाँकी रहेका दुवै खेल जिते पनि प्ले अफमा पुग्न मुम्बई अरुको खेलमा भर पर्नुपर्ने हुन्छ। यता, मुम्बईलाई हराउँदै दिल्ली क्यापिटल्स भने प्लेअफमा पुगेको छ । उसले १२ खेलमा १८ अंक जोडेको छ।

सारजाहमा शनिबार भएको खेलमा दिल्लीले मुम्बईलाई ४ विकेटले हरायो। पहिला मुम्बईले दिएको १३० रनको लक्ष्य दिल्लीले १९.१ ओभरमा ६ विकेट गुमाउँदै भेट्टायो। दिल्लीको जितमा श्रेयस एयर नटआउट ३३ रन बनाउँदा ऋषव पन्तले २६ र रविचन्द्र आश्विनले अविजित २० रन बनाए । मुम्बईका ट्रेन्ट बोल्ट, जयन्त यादव, क्रुनाल पाण्डे, जस्प्रित बुम्राह र नाथन निलले समान १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ८ विकेटको क्षतिमा १२९ रन बनाएको थियो । मुम्बईका लागि सूर्यकुमार यादवले सर्वाधिक ३३ रन बनाउँदा क्वेन्टन डी ककले १९ रन बनाए। दिल्लीका आभेस खान र अक्षर पटेलले समान ३ विकेट लिए ।