°
, June 4, 2023 in

बी डिभिजन लिग : रेलिगेसन दबाबमा बोइज युनियन, टुसालले वीरगञ्जलाई हरायो

SHARE:

यसै सिजन ए डिभिजनबाट बी डिभिजनमा झरेको बोइज युनियर क्लबमाथि रेलिगेसन दबाब परेको छ। बी डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा बाँसबारी क्लबसँग १–१ गोलको बराबरी खेलेसँगै बोइज युनियनमाथि रेलिगेसन दबाब परेको हो।

खेलको ७६औं मिनेटमा विनोद राईले गोल गर्दै ब्वाइज युनियनलाई अग्रता दिलाएका थिए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा रोशन सुनारले गोल गर्दै बाँसबारीलाई हारबाट जोगाए।

बराबरीसँगै ८ खेलबाट पाँच अंक जोडेको ब्वाइज युनियनमाथि रेलिगेशनको दबाब थपिएको छ। ब्वाइज अंक तालिककाको पुछारमा छ। यस्तै, समान खेल खेलेको बाँसबारीले ९ अंक जोडेको छ।

यसैगरी शुक्रबार नै भएको अर्को खेलमा टुसाल युथ क्लबले सहज जित निकालेको छ। टुसाल युथ क्लबले वीरगञ्ज युनाइटेडलाई ४–०ले हरायो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा टुसाललाई जित दिलाउन जिलेस्पी जंगकार्की र ओमप्रकाश रोकाले समान दुई गोल गरे।

२४औं मिनेटमा जिलेस्पीले गरेको गोलबाट टुसालले अग्रता बनाएको थियो। ६४औं मिनेटमा रोकाले गोल गर्दै टुसाललको अग्रता दोब्बर पारे। त्यसको तीन मिनेटपछि राकाले नै टुसललाई ३–० को अग्रता दिलाए।

यस्तै, खेल सकिन एक मिनेट बाँकी रहँदा जिलेस्पीले गोल गर्दै टुसाललाई ४–० को फराकिलो जित दिलाए।

जितसँगै ८ खेलबाट ११ अंक जोडेको टुसाल अंक तालिकाको छैटौं स्थानमा छ। यस्तै, समान खेल खेलेको विरगंजले १० अंक जोडेको छ।

लिगमा सहभागी १४ टोलीमध्ये शीर्ष दुई टोली ए डिभिजन लिगमा बढुवा हुनेछन् भने पुछारका दुई टोली तेस्रो डिभिजनमा घटुवा हुनेछन्।

SHARE: