रानी पोखरी कर्नरटिम (आरसिटी) बी डिभिजन लिगको अन्तिम खेलमा बराबरीमा रोकिएपछि खुमलटार युथ क्लबको भाग्य खुलेको छ। अन्तिम खेलमा आरसिटी बराबरीमा रोकिएको फाइदा उठाउँदै खुमलाटर ए डिभिजनमा बढुवा भएको हो।
आरसिटी र खुमलटारको समान २२ भएपनि गोलअन्तरमा माथि रहँदै खुमलटार ए डिभिजनमा बढुवा भएको हो ।
आरसिटी अन्तिम खेलमा टुसाल युथ क्लबसँग गोलरहित बराबरीमा रोकिँदा खुमलटारले सामाजिक युथ क्लबलाई २–१ले हरायो ।
सबिन केसीले १४ औं मिनेटमा गोल गर्दै खुमलटारले सुरुआती अग्रता लियो । ५७औं मिनेटमा सुरेश खत्रीले गोल गर्दै सामाजिकलाई बराबरीमा ल्याए । तर, खेलको इन्जुरी समयमा सामाजिकका विकास लिम्बुले आत्मघाती गोल गरेपछि खुमलटार ए डिभिजनमा बढुवा भयो ।
यता, पराजयसँगै सामिजक युवा भने रेलिगेसनमा परेको छ। अन्तिम चरण अघि नै चर्च ब्वाइज युनाइटेड ए डिभिजनमा बढुवा भएको थियो भने सम्झिखेल युथ क्लब रेलिगेसनमा परेको थियो ।