काठमाडौंमा जारी शहीद स्मारक बी डिभिजन लिगमा मंगलबार दुई खेल भए । सातदोबाटो स्थित एन्फा कम्प्लेक्स मैदानमा भएका खेलमा बाँसबारी युथ क्लब र मध्यपुर युथ एसोसिएसन विजयी भएका छन्।
मंगलबार बाँसबारीले पुल्चोक स्पोर्ट्स क्लबलाई २–० ले हरायो । बाँसबारीको जितमा दुवै गोल निशान सुनारले गरे।
पहिलो हाफको खेल गोलरहित बराबरीमा सकिको खेलमा निशानले ४८औं मिनेटमा निशानले गोल गर्दै बाँसबारीलाई सुरुआती अग्रता दिलाए। ६९औं मिनेटमा निशानले नै गोल गरेपछि बाँसबारी २–०ले विजयी भयो।
मंगलबार नै भएको अर्को खेलमा मध्यपुरले श्री कुमारी क्लबमाथि २–१ को जित निकाल्यो । मध्यपुरले एक गोलले पछि परेको अवस्थामा उल्टाउँदै जित निकाल्यो । यो उसको प्रतियोगितामा दोस्रो जित हो।
मध्यपुरलाई जित दिलाउने क्रममा कैलाश लामिछाने र धिरज श्रेष्ठले गोल गरे भने श्री कुमारीका आशिष राईले गोल गरेका थिए।
४०औं मिनेटमा आशिष राईले गोल गर्दे श्री कुमारीलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफको अन्तिम समयमा कैलाशले मध्यपुरका लागि बराबरी गोल फर्काए । दोस्रो हाफको सुरुवातमै ४८औं मिनेटमा धिरज श्रेष्ठले विजयी गोल गरेपछि मध्युपुर विजयी भयो।
८ खेलबाट १८ अंक जोडेको बाँसबारी अंकतालिकामा तेस्रो स्थानमा छ भने जितविहीन पुल्चोक ८ खेलबाट भने २ अंकसहित अंकतालिकाको पुछारमा छ।
लिगमा दोस्रो जित हात पारेको मध्यपुर ८ खेलबाट ७ अंक जोड्दै नवौं स्थानमा उक्लेको छ भने समान खेलबाट ७ अंक नै रहेको श्री कुमारी आठौं स्थानमा छ।