नेपाल टेलिकमका राजेन्द्रसिं कार्की र राष्ट्रिय खेलकुद परिषद् (राखेप) की पार्वती राईले १३ औं सार्वजनिक संस्थान खेलकुद प्रतियोगिताअन्तर्गत ब्याडमिन्टनको सिंगल्स स्पर्धामा शनिबार स्वर्ण जितेका छन्।
सार्वजनिक संस्थान खेलकुद विकास संघ नेपाल (पेस्डान)द्वारा आयोजित प्रतियोगिताको पुरुष फाइनलमा राजेन्द्रले नेपाल विद्युत प्राधिकरणका श्यामसुन्दर महर्जनलाई २१–१८ र २१–१४ को सोझो सेटमा पराजित गरे । महिला सिंगल्समा पार्वती राईले टेलिकमकी श्रद्धा मानन्धरलाई सीधा सेटमा २१–१४ र २१–७ ले हराइन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष डबल्समा विद्युतका खगेन्द्र शाही र राजु महर्जन, महिला डबल्समा विद्युतका सविना तामाङ र अम्बिा सापकोटा, भेट्रान ४५ वर्षमाथि पुरुष डबल्समा विद्युतका श्रीप्रसाद धिमाल र राजु महर्जन तथा एक्जिक्युटिभ पुरुष डबल्समा नेपाल टेलिकमका सुरेन्द्रसिं कार्की र राजेन्द्र श्रेष्ठको जोडीले स्वर्ण जिते । पेस्डान एक्सिक्युटिभ पुरुष डबल्समा तेजनाथ ढकाल र प्रशान्तबहादुर श्रेष्ठको जोडी पहिलो भए।
प्रतियोगितामा विद्युत ३ स्वर्ण, २ रजत र ४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । २ स्वर्ण, ३ रजत र १ कांस्यसाथ टेलिकम दोश्रो भयो भने तेश्रो स्थानको नागरिक उड्डयन प्राधिकरणले १ स्वर्ण र १ कांस्य हात पार्यो।
विजेतालाई राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, पेस्डानका अध्यक्ष कुलबहादुर आचार्यलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे।
प्रतियोगितामा ब्याडमिन्टन र पुरुष फुटसलमा प्रतिस्पर्धा भएको पेस्डानका महासचिव रामविनय श्रेष्ठले जनाएका छन् । भृकुटिमण्डपमा भएको फुटसलको उपाधि नागरिक उड्डयन प्राधिकरण ‘ए’ जित्यो ।