पोखरा रंगशालामा भएको बलियो नेपाल कप अन्तर एकेडेमी यू–१९ क्रिकेटको उपाधि पूर्वराष्ट्रिय खेलाडी शक्ति गाैचनकाे स्टार क्रिकेट एकेडेमीले जितेको छ। सोमबार भएको फाइनलमा कर्णाली एकेडेमीलाई ७ विकेटले हराउँदै स्टार एकेडेमीले उपाधि जितेको हो।
पहिला ब्याटिङ गर्दै कर्णालीले दिएको ७३ रनको सामान्य लक्ष्य स्टार एकेमडेमीले ९.५ ओभरमा ३ विकेटको क्षतिमा भेट्टायो। उसका लागि ओपनर अनमोल शिरिसले ३० बलमा २५ रन बनाए भने कप्तान अमर मिश्रले ९ बलमा २२ रन बनाए।
यस्तै, अंकित बुढामगरले नटआउट १५ रन बनाउँदा विशाल भुसालले ८ रन बनाए। कर्णालीका सन्दिप ठकुरी, भरत क्षेत्री र आदित्य शाहले समान १ विकेट लिए।
पहिला ब्याटिङ गरेको कर्णालीले १९.१ ओभरमा अलआउट हुँदै ७२ रन मात्र बनाउन सक्यो। उसका विराट भण्डारीले २७ बलमा १५ रन बनाउँदा रोशन शाहीले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा स्कोर बनाउन सकेनन्।
कर्णालीलाई सस्तैमा समेट्ने क्रममा स्टार एकेडेमीका सुमित पराजुलीले ४ ओभरमा १७ रन खर्चिदैँ ३ विकेट लिए। त्यस्तै शुभम खनालले २ तथा कप्तान अम मिश्र, निर्मल गुरुङ र महेश भरले समान १ विकेट लिए ।
प्रतियोगिताको उत्कृष्ट बलर पोखरा क्रिकेट एकेडेमीका प्रदीप अर्याल, उत्कृष्ट ब्याटर विराट सिंह भण्डारी र प्लेयर अफ द सिरिज स्टार क्रिकेट एकेडेमीका कप्तान अमर मिश्र पुरस्कृत भए ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार, तथा उपविजेता टोलीले २५ हजार रुपैयाँ तथा उत्कृष्ट ब्याटर र बलरले समान ७ हजार तथा सर्वोत्कृष्ट खेलाडीले १० हजार नगद पुरस्कार पाएका छन् ।
बलियो नेपाल न्युट्रिसन इनिसियटिभले गण्डकी प्रदेशका खेलाडीहरु सिनियर राष्ट्रिय टिमका करण केसी, तथा यू१९ टिमका अर्जुन कुमाल र सुवास भण्डारीलाई नगद पुरस्कार सहित सम्मान गरेको छ ।