बंगलादेशले अस्ट्रेलियाविरुद्धको टि–२० सिरिज जित्दै ऐतिहासिक सफलता हात पारेको छ। ५ खेलका टि–२०का सुरुआती तीन खेल जित्दै बंगलादेशले अस्ट्रेलियाविरुद्धको सिरिज २ खेल बाँकी छँदै सिरिज जितेको छ।
यसअघि अस्ट्रेलियाविरुद्ध कुनै पनि खेल जित्न नसकेको बंगलादेशले लगातार तीन खेल जित्दै सिरिज जितेको हो । शुक्रबार ढाकामा भएको तेस्रो खेलमा बंगलादेशले अस्ट्रेलियामाथि १० रनको जित निकाल्यो।
पहिला ब्याटिङ गर्दै बंगालादेशले दिएको १२८ रनको सामान्य लक्ष्य पनि अस्ट्रेलियाले भेट्टाउन सकेन। उसले २० ओभरमा ४ विकेट गुमाउँदै ११७ रन मात्र बनाउन सक्यो। उसका लागि मिचेल मार्सले सर्वाधिक ५१ रन बनाए। उनले ४७ बलमा ६ चौका र १ छक्का प्रहार गरे।
यस्तै, बेन म्याकडेमार्टले ४१ बलमा ३५ रन बनाए भने एलेक्स क्यारीले १५ बलमा २० रनको योगदान दिए । अस्ट्रेलियालाई कम योगफलमा रोक्ने क्रममा शोरिफुल इस्लामले २ तथा सकिब अल असन र नसुम अहमदले समान १ विकेट लिए । यस्तै, विकेट नलिए पनि मुस्ताफिजुर रहमानले ४ ओभरमा ९ रन मात्र खर्चिए ।
यसअघि पहिला ब्याटिङ गरेका बंगलादेशले २० ओभरमा ९ विकेटको क्षतिमा १२७ रन बनायो । उसका लागि कप्तान महमदुल्लाहले सर्वाधिक ५२ रन बनाए । उनले ५३ बल खेल्दै ४ चौका प्रहार गरे।
यस्तै, सकिब अल हसनले १७ बलमा २६ रन बनाउँदा अफिफ हुसैनले १३ बलमा १९ रनको योगदान दिए । अस्ट्रेलियाका नाथन इलिसले ३ विकटे लिए भने जोश हेजलउड र एडम जम्पाले समान २ विकेट लिए।