स्पेनिस जाइन्ट बार्सिलोना घरेलु मैदानमै पराजित भएको छ। बिहीबार राति भएको खेलमा बार्सिलोना घरेलु मैदान क्याम्प नेउमा ग्रानडासँग २–१ले पराजित भयो।
यो हारसँगै बार्सिलोनाले शीर्ष स्थानमा उक्लिने सुनौलो अवसर गुमायो। जित निकालेको भए बार्सिलोनाले शीर्ष स्थानको एट्लेटिको मड्रिडसँग १ अंकको अग्रता बनाउने थियो । हारपछि उ ७१ अंकसहित तेस्रो स्थानमै रह्यो । शीर्ष स्थानको एट्लेटिकोको ७३ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको ७१ अंक छ । ग्रानडा ४५ अंकसहित आठौं स्थानमा छ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा बार्सिलोना पराजित भएको हो । ग्रानडालाई जित दिलाउन डार्विन माचिस र जोर्गे मोलिनाले गोल गरे भने बार्सिलोनाका लियोनल मेसीले गोल गरे।
२३औं मिनेटमा कप्तान लियोनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए । उनले एन्टोइन ग्रिजम्यानको पासमा गोल गरेका थिए । पहिलो हाफ १–०मै सकियो।
६३औं मिनेटमा डार्विन माचिसले गोल गर्दै ग्रानडालाई खेलमा फर्काए । ७९औं मिनेटमा जोर्गे मोलिनाले गोल गरेपछि ग्रानडाले बार्सिलोनालाई उसकै मैदानमा २–१ले हरायो ।