स्पेनिस क्लब बार्सिलोना इटालियन क्लब नापोलीमाथि सानदार जित निकाल्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ। बिहिबार राति भएको नकआउट चरणको प्लेअफको दोस्रो लेगमा नापोलीमाथि ४–२ को जित निकाल्दै बार्सिलोना समग्रमा ५–३ ले विजयी भयो ।
नापोलीको मैदानमा बार्सिलोनालाई जिताउन जोर्डी अल्बा, फ्रेन्कि डी योङ, जेरार्ड पिके र पिर्रे एमरिक औबामेयाङले गोल गरे। नापोलीका लागि लरेन्जो इन्सिने र माटेअ पोलिटानोले गोल गरे।
यी दुईबीचको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो।
यसैगरी स्पेनकै अन्य दुई टिम सेभिया र रियल बेटिस अन्तिम १६मा प्रवेश गरेका छन्। सेभियाले डाइनामो जाग्रेबमाथि दोस्रो लेगमा १–०को जित निकाल्दै समग्रमा ३–२को जित निकाल्दा रियल बेटिस दोस्रो लेगमा गोलरहित बराबरीमा रोकिए पनि समग्रमा उसले जेनिथ सेन्ट पिटर्सबर्गमाथि ३–२को जित निकाल्यो ।
यता, अर्को स्पेनिस क्लब रियल सोसिडाड अन्तिम ३२ बाटै बाहिरिएको छ । उ दोस्रो लेगमा घरेलु मैदानमा जर्मन आरबी लेइपजिगसँग ३–१ले पराजित भयो, र समग्रमा ५–३ले पराजित भयो।
अब अन्तिम १६ को लागि शुक्रबार ड्र गरिनेछ ।