°
, May 29, 2023 in

डे जोङको गोलमा हारबाट जोगियो बार्सिलोना

SHARE:

अघिल्लो खेलमा एट्लेटिको मड्रिडमाथि शानदार जित निकालेको बार्सिलोना ‘क्याटलान डर्बी’मा भने मुस्किलले हारबाट जोगियो । आइतबार राति भएको इस्पानियोलविरुद्धको खेलमा डच स्ट्राइकर लुक डे जोङले इन्जुरी समयको पनि अन्तिम सेकेन्डमा गोल गरेपछि बार्सिलोनाले २–२ गोलको बराबरी खेलेको हो।

खेलमा बार्सिलोनाका पेड्री र लुक डि योङले गोल गर्दा इस्पानियोलका सर्जी डार्डर र राउल डे टोमसले गोल गरेका थिए । खेलमा दुवै हाफमा समान २ गोल भएको थियो।

बार्सिलोनाले पहिले अग्रता लिए लियो । जोर्डी अल्बाको पासमा पेड्रीले गोल गर्दै अग्रता दिलाए । ४०औं मिनेटमा सर्जी डार्डरले स्पानयोलका लागि बराबरी गोल फर्काए।६४औं मिनेटमा राउल डे टोमसले गोल गरेपछि दोस्रो हाफमा इस्पानयोलले २–१ को अग्रता लियो।

नाटकीय बनेको खेलको अन्त्यतिर स्पानयोलका दुई र बार्सिलोनाका एक खेलाडीले रातो कार्ड पाए अनी अन्तिममा बार्सिलोनाले गोल पनि फर्कायो । बार्सिलोनाका जेरार्ड पिके र स्पानयोलका निको मेलामेडले इन्जुरी टाइममा रातो कार्ड पाए ।

त्यसपछि वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका लुक डे जोङले इन्जुरी टाइममै एडामा ट्राओरेको पासमा गोल गर्दै बार्सिलोनालाई १ अंक दिलाए । त्यसपछि स्पानयोलका मानु मोर्लानेस पनि रातो कार्ड पाउँदा ९ खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो ।

बराबरीपछि ३९ अंकसहित बार्सिलोना चौथो स्थानमै छ भने इस्पानियोल २८ अंकसहित १३औं स्थानमा छ।

SHARE: